पाठ्यपुस्तकमा कमिसनको खेल «

पाठ्यपुस्तकमा कमिसनको खेल

वीरगन्ज-नयाँ शैक्षिक सत्र सुरु भएपनि पर्सामा निजी विद्यालय र पुस्तक व्यवसायीहरूबीचको कमिसनको चेपुवामा अभिभावक र विद्यार्थी परेका छन् । संस्थागत विद्यालयहरूमा पढाइने पाठ्यपुस्तकको विषयसूची विद्यालयहरूले सार्वजनिक नगरेपछि बजारमा पुस्तक नपाउँदा विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन् ।
निजी विद्यालय र पुस्तक व्यवसायीहरूबीच पाठ्यपुस्तकमा कमिसनको चलखेल सुरु भएपछि पुस्तक नपाउँदा विद्यार्थी र अभिभावक अन्योलनमा परेका हुन् । पर्साका निजी विद्यालयहरूले पाठ्यपुस्तकमा पाइने कमिसनको कुरा नमिल्दा पाठ्यपुस्तकको सूची सार्वजनिक गर्न नसकेको पुस्तक व्यवसायीहरूको आरोप छ ।
पुस्तक व्यवसायी संघ पर्साका सल्लाहकार जटाशंकर यादवले समयमा विद्यालयहरूले विषयसूची उपलब्ध नगराउँदा पुस्तक मगाउन नपाएको बताए । तर, निजी विद्यालयहरूले पुस्तक व्यवसायीहरूबाट पाउँदै आएको २५ प्रतिशत कमिसनमा सरकारले अंकुश लगाएपछि पुस्तक व्यवसायीहरूले कमिसन दिन नमान्दा विद्यालयका संचालकहरूले नयाँ शैक्षिक शत्रका लागि पाठ्यपुस्तकको सूची सार्वजनिक गर्न ढिलाई गरेको आरोप लागेको छ ।
पुस्तक प्रकाशन गर्ने कुन कम्पनीले बढी कमिसन दिने, अभिभावक धेरै भएका विद्यालयमा कसरी कमिसन बढाउने तथा अभिभावकलाई दिने छुट कसरी हटाउने जस्ता चलखेल आन्तरिक रुपमा हुन थालेको छ । नेपाल सरकारले गत वर्ष ऐन नै जारी गरेर पाठयपुस्तकको कमिसन विद्यालयलाई नभई अभिभावकलाई १० प्रतिशत छुट दिनुपर्ने नियम बनाएपनि यो वर्ष विभिन्न बहानामा उक्त छुट नदिन चलखेल समेत सुरु भएको छ । पुस्तक खरिद बिक्रीका क्रममा निजी विद्यालयहरूको भागमा समेत मोटै कमिसनको रकम लिने गरेका थिए । तर, गत वर्षदेखि सरकारले पुस्तक खरिदबिक्रिमा दिने कमिसनमा अंकुश लगाएपछि पुस्तक विक्रेताले विद्यालयका सञ्चालकलाई बढी कमिसन दिन नसक्ने भन्दै आनाकानी गरेपछि निजी विद्यालयहरूले संस्थागत रुपमै विषय सूची सार्वजनिक गर्न ढिलाइ गरेको विक्रेताहरूको आरोप छ ।
विद्यालयले प्रकाशन गृह तोक्ने, तोकिएका प्रकाशन गृहकै पुस्तक खरिद गर्न अभिभावकलाई बाध्य पार्ने र त्यसबाट मोटो रकम निजी विद्यालय सञ्चालकको हातमा पुग्ने गरेको आरोप निजी विद्यालयहरूलाई लाग्दै आएको छ । निजी विद्यालयहरूले भने विद्यालय खोल्न शुरु गरेपनि अझै पुस्तकको सूची भने सार्वजनिक गरेको छैन । कतिपय विषयसूची सार्वजनिक गरेका विद्यालयहरू आइतबारदेखि नै शुरु भएपनि बजारमा पुस्तक नपाउँदा अभिभावक र विद्यार्थी भने चिन्तित भएका छन् । पुस्तकको विषयमा विद्यालयहरूसँग सम्पर्क गर्दा पुस्तक व्यवसायीहरूले बजारमा पुस्तक बिक्री नगरेकोले समस्या भएको र १० गतेपछि उनीहरूले पुस्तक बिक्री गर्ने भनेकोले त्यो समयसम्म कपी मात्रै लिएर विद्यालय पठाउन अभिभावकलाई आग्रह गरेको छ ।
वीरगन्जका पुस्तक व्यवसायीहरूले यसअघि नै विषयसूची सार्वजनिक नगरेको भन्दै यसपाली निजी विद्यालयका किताब नै नबेच्ने धम्की दिँदै आएका छन् । नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तकको सूची उपलब्ध गराउन प्याब्सन र एन प्याब्सन दुवैलाई लिखित रुपमै आग्रह गरिसकेको भएपनि अहिलेसम्म किताबको सूची उपलब्ध नभएको उनीहरूले बताएका छन् । समयमै पाठ्यपुस्तकको सूची उपलब्ध नहुँदा पुस्तक मगाउन नसकिने र अभिभावकहरू एउटै कक्षाको किताबका लागि पटक पटक पसलमा धाउनुपर्ने समस्या विगतका वर्षमा रहेको भन्दै यसवर्ष पनि अभिभावकहरूले त्यस्तै सास्ती खेप्नु पर्ने अवस्था आउन सक्ने सम्भावनाले अभिभावकहरू भने निराश भएका छन् । हरेक शैक्षिक सत्रमा यस्तो समस्याहरू आउने गरेपनि सम्बन्धित निकाय भने मौन बसेका छन् ।
तीन तहको सरकार बनेपछि शिक्षा हेर्ने निकाय पनि स्थानीय तहमा नै गएकोले अहिले कायम रहेको जिल्लास्थित शिक्षा विकास समन्वय इकाईले पनि यसको समाधानका लागि खासै चासो देखाएको छैन । स्थानीय तहमा रहेको शिक्षा विकास समन्वय शाखाले पनि विद्यार्थीको भविष्यमाथि नै खेलवाड हुने यस्तो गम्भीर विषयमा कुनै कडा कदम चाल्न सकेको छैन । दुवैपक्षलाई पटक पटक वार्तामा बसाएर सहमति खोज्दा पनि अझै सहमति हुन सकेको छैन । विद्यार्थी भर्ना अभियान शुरु भएपनि निजी विद्यालयका जिम्मेवार शिक्षकहरू भने भर्नामा छुट माग गर्नेहरूको दबाब थेग्न नसकेर सम्पर्क विहिन भएर बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्