बजेटमा उत्पादन वृद्धि र लगानी प्रवर्धनका बिषय सकारात्मक : संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले आगामी आर्थिक वर्षको बजेट वक्त्तव्यमाथी टिप्पणी देशमा उत्पादन बृद्धि र लगानी प्रवर्धनको क्षेत्रमा सरकारले गरेका नीतिगत व्यवस्थाहरू सकारात्मक रहेको बताइन् ।
उनले सदनमा आफनो धारणा राख्दै बजेटले आयात घटाउने र निर्यात बढाउने नीति लिएको बताईन । “प्रतिपक्षी सांसदले यो बजेटलाई चुनावी बजेट, महत्वाकांक्षी र वितरणमुखी भन्नुभए पनि यो बजेट वास्तवमा उत्पादन बढाउने र अर्थतन्त्रको आकार ठूलो बनाउने कार्यक्रमहरू लिएर आएकाले त्यसलाई संन्तुलन गरेको छ ।” उनले भनिन्, “बिकेन्द्रीकरणको सिद्धान्तलाई बल पु-याउँदै प्रदेश र स्थानीय सरकारलाई परिचालनगर्दै काम गर्ने योजनाहरू प्रस्तुत बजेटमा राखिएको हुँदा बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड पुगेको हो ।”
धारणमा कतिपय पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ भने केही नयाँ थप कार्यक्रमहरू सञ्चालन गर्नेमा राखिएको जनाइएको छ । ६८ वर्षमै वृद्धभत्ता, राष्ट्र सेवकको तलब वृद्धि, आगामी वर्ष सरकारी गाडी नकिन्ने, एक परिवार एक विद्युतीय चुल्हो, आयकरको सीमा परिवर्तन, स्यानेटरी प्याडको आयातमा भन्सार छुट जस्ता विषय सकारात्मक रहेको उनले बताई । यसैगरी मृगौला, क्यान्सर, मेरुदण्ड, पक्षघातका बिरामीलाई आर्थिक सहायता, द्वन्द्वकाल तथा यौन हिंसा पीडितलाई राहत, २० युनिट विद्युत खपतलाई निःशुल्क, उद्योग स्थापनाका लागि आवश्यक जग्गा हदबन्दि बढाउने नीति, मूलतःआयात घटाउने र निर्यात बढाउनका साथै पूर्वाधार लगानी बढाउने नीति जस्ता महत्वपूर्ण कार्यक्रमहरू बजेटमा ल्याईएको बताइन् ।
कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, वित्तिय सेवा, औद्योगिक निर्यातका क्षेत्रमा बजेटले प्राथमिकताका साथ सुधारका कार्यक्रमहरू ल्याएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू र गैरआवासीय नेपालीहरूका लागि पनि विभिन्न कार्यक्रमहरू बजेटमा राखिएको उल्लेख छ ।
“उद्योगधन्दा, पर्यटन, रोजगारी हरेक क्षेत्र कोरोनाबाट प्रभावित भएको छ ।” उनले सदनमा धारणा राख्दै भनिन्, “कोरोनाबाट रोजगारी र आय श्रोत गुमाउनेमा महिलाहरूको संख्या धेरै छ । त्यसैले बजेटको कार्यान्वयन गर्दा महिलाहरूलाई रोजगारी र आय आर्जनका कार्यक्रममा प्राथमिकताका साथ संलग्न गराउन म सरकारलाई आग्रह गर्छु ।”