सकियो सगरमाथा आरोहण «

सकियो सगरमाथा आरोहण

जारी सिजनमा ५ सय ६० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । आरोही र शेर्पाहरुको सहयोगी टोली गरेर यो संख्यामा आरोहण भएको पर्यटन विभागले जनाएको छ ।
विभागका शाखा अधिकृत भीष्मराज भट्टराईले भने, “यो सिजनका लागि विभागबाट ४ सय २५ ले सगरमाथा आरोहणको अनुमति प्राप्त गरेका थिए । यसमा सहयोगी शेर्पालगायत थपिँदा ५ सय ६० पुगेको हो ।”
यो सिजनमा ५९ देशका ४ सय २५ जनाले आरोहण अनुमति लिएका थिए, जसमा अमेरिकी नागरिक सबैभन्दा बढी रहेको विभागले जनाएको छ । दोश्रोमा बेलायती नागरिक, तेश्रोमा भारतीय र चौथोमा नेपालीले अनुमति लिएका छन् । विभागका अनुसार जारी सिजनको आरोहण अनुमति लिने र आरोहाण गर्ने क्रम लगभग पूरा भएको छ । अबको एक महिनामा सगरमाथा आरोहणको आधिकारिक तथ्यांक प्राप्त हुने विभागले बताएको छ ।
सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिरे पुग्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ । जारी सिजनमा सगरमाथा आरोहणबाट ४० करोड रुपैयाँ राजस्व संकलन भएको छ । जारी सिजनमा सगरमाथा आरोहणका क्रममा गएका ३ नागरिकको मृत्यु भएको छ, जसमा २ नेपाली र १ विदेशी छन् ।

प्रतिक्रिया दिनुहोस्