कतारी राजकुमारी सगरमाथा चुचुरोमा

कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले ट्वीट गर्दै सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरिएकोमा खुसी व्यक्त गरेको छ ।
राजकुमारी आश्मा नै पहिलो अरबि महिला हुन्, जसले नेपाल–भारत सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कञ्चनजंघाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् । साथै उनले ठूलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् । सपना देखेपछि त्यसलाई पूरा गर्ने हिम्मत आउने उनको भनाइ छ । उनले भनेकी छन्, “जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ नै छ । मेरो सपनाले मलाई जुनसुकै बेला पछ्याइरह्यो। निदाउनु अगाडि र उठेपछि त्यसकै पछि लाग्ने बनायो । यो सपना पूरा गर्नु त्यति सजिलो थिएन र पनि पूरा भएको छ ।” राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरिसकेकी छन् ।