पाँच सयजना भूकम्प प्रभावित सम्पर्क बाहिर त्रिलोचन रिजाल

भूकम्पका बेला आफ्नो घरवास गुमाएका बागलुङका पाँच सय भूकम्प प्रभावित सम्पर्क बाहिर रहेको पाइएको छ । सरकारले भूकम्पबाट पूर्णक्षति बेहोर्नेको सूचीमा परेकामध्ये ४९९ जना भूकम्प प्रभावित अनुदानवापतको पहिलो किस्ताको रकम लिन सम्पर्कमा आएका छैनन् ।
जिल्लामा भूकम्पबाट पूर्णरूपमा क्षति भएका २ हजार ३७५ घर छन् । जसमध्ये ४९९ जना पहिलो किस्ताको अनुदान रकम लिनसमेत सम्पर्कमा नआएको जिल्ला समन्वय समितिले जनाएको छ । “लगत संकलनका क्रममा रातो किताब पाएर अनुदान पाउनेको लिस्टमा समावेश भएका पनि पहिलो किस्ताको रकम लिन सम्पर्कमा आएका छैनन्,” जिल्ला समन्वय समितिका स्रोतव्यक्ति अखिलनाथ शर्माले भने । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला जिल्लामा पूर्णरूपमा क्षति भएका घर पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम वितरणको काम भइरहेको छ तर घर भत्केको लगतमा परेका सयौं नागरिक अनुदान रकम लिनका लागि सम्पर्कमा नै नआएको शर्माले बताए । “पूर्णक्षति भएकाहरूको लिस्टमा परेकालाई अनुदान उपलब्ध गराउन कुनै समस्या छैन,” शर्माले भने, “प्रक्रिया पु¥याएर आएका सबैलाई रकम उपलब्ध गराएका छौं ।” गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालयमार्फत सम्झौता भएको भए पनि झण्डै ५ सयजना सम्पर्कमा नआएकाले रकम वितरण गर्न नसकिएको शर्माले बताए । जिल्लाको पश्चिमका साविकका केही गाविसबाट पीडित सम्पर्कमा नआएको समन्वय समितिले जनाएको छ । साविकका गाविस पाण्डवखानी, बोंगादोभान, निसी ताराखोला, अमरभूमिबाट सम्झौता भएका पीडितसमेत सम्पर्कमा नआएको शर्माले बताए ।
जिल्ला समन्वय समितिले सम्पर्कमा आउन आग्रह गरेपछि केही सम्पर्कमा आएको र खातामा रकम पठाउने प्रक्रिया सुरु भएको उनको भनाइ छ । “केही पीडितहरू विदेशमा हुनुहुन्छ केही मृत्यु भइसकेको छ,” शर्माले भने, “विदेशमा भएकाको मञ्जुरी चाहिने र मृत्यु भएकाको प्रक्रिया पु¥याउनु पर्ने भएकाले पनि समस्या भएको हुनसक्छ ।” हालसम्म जिल्लाभर गत आवमा १ हजार १०९ जना र यस आवमा ५६३ जनाले पहिलो किस्ताको रकम लिइसकेको शर्माले जानकारी दिए । पूर्णक्षति भएकामध्ये १०४ जनाको नाम तथा थरमा केही फरक परेकाले त्यसलाई पुनरावलोकन गरेर प्राधिकरणमा पठाइएको र १५० जनाभन्दा धेरैको नाम थर र ठेगाना मिलाएर पठाउनु पर्ने अवस्था रहेको शर्माले जानकारी दिए । “बजेटको समस्या छैन, सम्झौता भएअनुसार प्रक्रिया पु¥याएर आउनेलाई रकम उपलब्ध गराउनु भन्ने निर्देशन छ,” शर्मा भन्छन्, “लगतमा परेकासमेत रकम लिन आएका छैनन् ।” हालसम्म जिल्लाभर अघिल्लो आवमा ५ करोड ५४ लाख ५० हजार र यस आवमा २ करोड ८१ लाख ५० हजार रुपैयाँ गरी ८ करोड ३६ लाख रुपैयाँ अनुदान वितरण भइसकेको छ ।
त्रिलोचन रिजाल