ईपीएसअन्तर्गत कृषि क्षेत्रका लागि बिहीबार भाषा परीक्षा

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा बिहीबार हुने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले पहिलो चरणमा कृषि क्षेत्रतर्फ १० हजार ८५८ आवेदकको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
भाषा परीक्षा ३ चरणमा युविटी (युविक्युट्स बेस टेस्ट) ट्याब मार्फत गरिने भएको छ । यसअघिको भाषा परीक्षा पेपर बेस टेस्ट (पिबीटी) रुपमा गरिँदै आएको थियो । शाखाले भाषा परीक्षा लतिलपुरको भैसेपाटीस्थित परीक्षा केन्द्रमा गर्ने जनाएको छ । शाखाका प्राविधिक टेकबहादुर खड्काले परीक्षालाई मर्यादित बनाउन परीक्षार्थीको फिंगर प्रिन्ट लिने जानकारी दिए । दक्षिण कोरियाले ईपीएस अन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।
ईपीएस शाखाले परीक्षा आवेदन दिने अन्तिम म्यादसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको जानकारी दिएको छ । विगत वर्षको तुलनामा कोरोनाका कारण बीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको देखिन्छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजना सहित वैशाखबाट गर्न आवेदन माग गरिएको थियो ।
हाल कोरिया जाने योग्य सूची (रोष्टर) मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो । कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पिबिटी (पेपर बेस टेस्ट) र कोरिया गएर फर्केकाका लागि सिबिटी (कम्प्युटर बेस टेस्ट) गरिँदै आएकोमा यो परीक्षा युबिटी (युबिक्युट्स बेस टेस्ट) प्रणालीबाट लिइने छ । यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्यालेटबाट परीक्षा लिइने छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा सञ्चालन गरेको हो । सन् २००८ देखि वर्षेनी हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो २ वर्ष कोरोना संक्रमणका कारण स्थगन गरिएको थियो ।
कोरिया र नेपाल सरकारबीच भएको श्रम समझदारीपत्र (एमओयू) अनुसार कोरियामा नेपाली युवालाई कामदारको रुपमा पठाउन पहिलो चरणको छनोटका लागि भाषा परीक्षा गर्न लागिएको हो । कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९१३ नेपाली लैजाने गरी भाषा परीक्षा गर्न लागेको हो । परीक्षाको आवेदन भने चैत १४ देखि २१ गतेसम्म अनलाइनमार्फत माग गरिएको थियो ।
शाखाले भाषा परीक्षालाई मर्यादित बनाउन परीक्षार्थीको बायोमेट्रिक गर्ने भएको छ । अन्य व्यक्तिको नाममा अनधिकृत व्यक्तिले परीक्षा दिएमा ४ वर्षसम्म भाषा परीक्षामा सामेल हुन नदिइने व्यवस्था छ । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।
नेपालबाट सन् २०१९ मा ७ हजार १३६, सन् २०२० मा १ हजार २७ र सन् २०२१ म ८०३ जना नेपाली रोजगारीका लागि गएका थिए । कोरोना संक्रमणअघि नेपालबाट वार्षिक ७ हजार भन्दा बढी नेपाली युवा कोरिया जाने गरेका थिए । जिटुजी माध्यमबाट छनोट हुने भएकाले कोरिया जाने श्रमिकको अधिकतम १ लाख रुपैयाँमात्र खर्च हुने शाखाले जनाएको छ ।