स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्ध मूर्ति

स्याङ्जा-स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । नवनिर्मित बुद्धको मूर्तिले पर्यटक आगमन बढाएको छ । मूर्ति निर्माणपछि अवलोकन तथा घुमघाम गर्न आउने आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुने गरेको छ ।
नेपालकै सबैभन्दा अग्लो दावी गरिएको ५८ फिट अग्लो बुद्ध मूर्ति जिल्लाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको सिमानामा रहेको छ । अर्जुनचौपारी वडा नं. ६ को समुन्द्री सतहदेखि झण्डै २२ सय मिटरको उचाई रहेको थाप्लेमा बुद्धको बनेको छ। स्थानीय दरौंका गुरुङ समुदायको सहयोगमा बुद्धको मूर्ति निर्माण भएको हो ।
२०७५ सालदेखि सुरु गरिएको मूर्ति झण्डै ३ वर्षमा रंगरोगनसहित निर्माणको काम पूरा भएको छ । उक्त बुद्धको मूर्ति झण्डै १ करोड ५० लाखको लागतमा निर्माण भएको हो । शहर केन्द्रित बसाइसराइलाई नियन्त्रण गर्न स्थानीय भूमिबहादुर गुरुङ (विश्व) ले थाप्लेमा मूर्ति निर्माणको परिकल्पना अगाडी सारेका हुन् ।
“परिकलपनासँगै गाउँलेलाई भेला गराएपछि पोखरा, काठमाडौंलगायत विदेशमा पुगेका स्थानीयबासी सबैले मन खुलाएर सहयोग गरे” उनले भने, “झण्डै करोडको हाराहारीमा रकमजम्मागरेरमूर्ति निर्माण सुरु गरियोे ।” विश्व एक्लैले मूर्ति निर्माणमा ५० लाख नगद सहयोग गरेका छन् ।
मूर्ति निर्माणसँगै थाप्लेमा चहलपहल बढेको छ । बालबालिकादेखि जेष्ठ नागरिकसम्म थाप्लेमा मूर्ति अवलोकनका लागि आउने गरेका छन् । आन्तरिक र बाह्य पयर्टकको चहलपहल बढेसँगै स्थानीय युवाहरुको लगानीमा रेष्टुरेन्ट र होटल सञ्चालनमा ल्याइएको युवा सञ्जिव गुरुङले बताए । युवाहरुको आग्रहमा स्थानीय पालिकाको सहयोगमा दृश्यावलोकनका लागि भ्यू टावरसमेत निर्माण गरिएको छ ।
अग्लो भू–भाग, सुन्दर, शान्त र रमणीय स्थलमा बनेको मूर्तिको स्थापनापछि थाप्लेमा दैनिक सयौंको संख्यामा पर्यटक आउने गरेको सञ्जिवले बताए । दैनिक ५ सय भन्दा बढि पर्यटक घुम्न आउने गरेका छन् ।
पर्यटकको चाहनाअनुसार स्थानीय पञ्चेबाजा, क्याम्प फायर, लोक दोहोरी लगायतका मनोरञ्जनको सुविधा उपलब्ध गराइएको स्थानीय तेज रोकाले बताए । थाप्ले घुम्न मात्र नभए बैठक, सेमिनार र पिकनिकका लागि पर्यटकहरु आउने गरेको रोकाले जानकारी दिए ।