Logo

खषभाषालाई कामकाजी बनाउन भाषा आयोगको जोड

जुम्ला-जुम्ली मातृभाषा (खषभाषा) लाई कामकाजी बनाउन भाषा आयोगले जोड दिएको छ । हरेक क्षेत्र, भेग र जिल्लाको मातृभाषा लोपोन्मुख बन्दै गएपछि संरक्षणमा जुम्लाको मातृभाषा (खषभाषा) लाई कामकाजी बनाउनु पर्नेमा आयोगले जोड दिएको हो । मुलुकका सबै सामुदायिक विद्यालयमा मातृभाषा शिक्षणदेखि सरकारी कार्यालयमा समेत मातृभाषालाई कामकाजी बनाउन आवश्यक रहेको भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले बताए । कक्षा १ देखि ५ सम्मका बालबालिकालाई अनिवार्य मातृभाषामा पठनपाठन गर्ने नीति बनाइनु पर्नेमा उनको जोड छ ।
भाषा आयोगद्वारा जुम्लामा आयोजित बहुभाषिक शिक्षा नमुना विकास प्रशिक्षण कार्यक्रममा आयोगका अध्यक्ष अवस्थीले जुम्लाको भाषा, साहित्य र सभ्यतालाई जीवन्त राख्न मातृ भाषा (खषभाषा) को संरक्षण, प्रवद्र्धन तथा विद्यालयस्तरदेखि कामकाजी बनाउनु पर्ने उल्लेख गरे ।
भाषाको अस्तित्व बिना सभ्यताको महत्व हुँदैन । अध्यक्ष अवस्थीले भने, “माृतभाषाको विस्तार संरक्षण तथा कामकाजी बनाउने पहिलो माध्यम नै विद्यालय हो । त्यसैले आधारभूत तहबाटै अनिवार्य मातृभाषा पढाइलाई अघि बढाउन नीतिगत व्यवस्था गरिनुपर्छ । अन्यथा केही वर्षपछि हरेक जात, भेग, जिल्लाका मातृभाषा संकटमा पर्ने निश्चित छ ।”
नेपालको संविधानमै अनिवार्य मातृभाषा शिक्षाको व्यवस्था गरिएकाले घरदेखि विद्यालयसम्म मातृभाषाको प्रयोगमा समेत जोड दिनुपर्ने उनको भनाइ छ । जुम्लाको खषभाषालाई जोगाउन जुम्लाकै स्थानीय सक्रिय हुनुपर्छ । आयोगकी सदस्य उषा हमालले भनिन्, “जुम्ली खषभाषालाई कामकाजी बनाउन जिल्लाका सबै विद्यालयले आधारभूत तहमा अनिवार्य मातृभाषाको पठनपाठन सुरु गर्नुपर्छ भने स्थानीय तहले पाठ्यक्रम निर्माण, प्रशिक्षण, प्राविधिक सहयोग गरे मातृभाषा संरक्षण जटिल छैन ।”
चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले मातृभाषा (खषभाषालाई) विद्यालयस्तरमा लागू गर्न शिक्षकलाई भाषाका विषयमा पोख्त बनाउनु पर्ने बताए । नेपाली भाषाको उद्गमस्थल सिंजा सम्भयताको संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । जुम्ली मातृभाषा (खषभाषा) संरक्षणका लागि विशेष योजना बनाउने समेत प्रतिबद्धता गरे ।
तथ्यांकगत रूपमा जुम्ली खषभाषा बोल्ने वक्ताको संख्या एकिन नभएकाले भाषा आयोग जुम्ली खषभाषा बोल्नेको संख्या एकिन गर्नुपर्ने पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको सुझाव छ । खसभाषा प्रयोग नहुँदा र औपचारिक शिक्षाको माध्यम बन्न नसक्दासमेत खषभाष लोपोन्मुख बनेको उनको भनाइ छ ।
जुम्ला बहुमुखी क्याम्पसका प्रमुख ओमप्रकाश आचार्यले जुम्ली मातृभाषा (खषभाषा) लाई अहिल नै कुनै पनि माध्यमबाट कामकाजी बनाउन नसकेको खण्डमा भोलि नेपाली भाषानै विलय हुने निश्चित भएको बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा रहेका १ सय २५ जातिका मान्छेले १ सय २३ भाषा बोल्छन् । समग्र रूपमा नेपाली भाषाको संरक्षण हुने गरी र मातृभाषाको अस्तित्व नमेटिने स्थानीय तहले अनुकल ऐन कानुन बनाई मातृभाषालाई कामकाजी बनाउनुको विकल्प नरहेको जुम्ला बहुमुखी क्याम्पसका सहायक प्रध्यापक प्रकाशचन्द्र खत्रीले बताए । जुम्ली खषभाषा संरक्षणका लागि स्थानीय तहमात्र नभई भाषा आयोगकै विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । मातृभाषा संरक्षण तथा विस्तारका लागि जुम्लाको सिंजा र तातोपानी गाउँपालिकाले खषभाषामा आधारित स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । मातृभाषा संरक्षण गर्न अन्य स्थानीय तहले पनि आधारभूत तहको खष पाठ्यक्रम निर्माण गर्नुपर्ने सरोकारवालाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्