निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताउनुभएको छ ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताएका हुन् । उनले सरकार दृढतापूर्वक अगाडि बढ्ने बताए । मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरू युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको दाबी गरे । उनले पुरानो जहाज प्रयोग गरेर मानिसको जीवनको खेलवाड गरिएको भन्दै जहाजहरूको पुरै इन्जिनियरिङ सर्वे गरेरमात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए । उनले राज्यका कुनै पनि निकाय विकासको सहयोगी हुनुपर्ने बताए । उनले विकास निर्माणको काममा बाधा उत्पन्न हुने किसिमको कुनै पनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने बताए । अध्यक्ष नेपालले अदालतको फैसलाको पाठको आधारमा निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताए । उनले विमानस्थल बनाउन नसके ठूलो मूल्य चुकाउनुपर्ने बताए । यसका लागि आवश्यक परेमा सर्वदलीय सहमति गरेर पनि काम गर्नुपर्ने उनले बताए । नेकपाग (एमाले) का सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए । सर्वोच्च अदालतको आदेश बेवास्ता गरेर भए पनि निर्माण हुनुपर्नेमा उनको जोड छ ।