तनहुँ हाइड्रोप्रति पौडेलको चासो «

तनहुँ हाइड्रोप्रति पौडेलको चासो

तनहुँमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगतिबारे कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चासो राखेका छन् ।
बुधबार गृह जिल्ला आएका पौडेलले तनहुँ जलविद्युत् आयोजनाको हालसम्म भएका प्रगति बारे चासो राख्दै आयोजनाको निरीक्षण गरेका हुन् । पौडेल आयोजनाको निर्माणाधीन पावर हाउस, आवास गृहलगायतको अवलोकन गर्दै आयोजनाको हालसम्मको प्रगति विवरणबारे जानकारी लिएका थिए ।
सो अवसरमा तनहुँ जलविद्युत् आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले आयोजनाको प्रगति बारेमा पौडेललाई जानकारी गराएका थिए । उनका अनुसार तनहुँ हाइड्रोको पहुँच मार्ग निर्माण सम्पन्न भइसकेको छ । व्यास–५ चापाघाटदेखि ड्यामसाइट हुँदै पावर हाउससम्म पक्की सडक निर्माण सम्पन्न भएको हो । उनका अनुसार ३९ करोड रुपैयाँको लागतमा उक्त पहुँच मार्ग सम्पन्न भएको छ ।
आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न आयोजना प्रभावित तनहुँका चारै तहमा स्थानीय परामर्श मञ्च (एलसीएफ) गठन भइसकेको छ । डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ७० प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ । आयोजनाको अहिले निर्माण पूर्वका काम भइरहेका छन् ।
आयोजनाको कूल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो लागत निर्माण अवधिको ब्याज र प्रसारणलाइन तथा ग्रामीण विद्युतीकरणको खर्चसहितको हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको अतिरिक्त एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बंैकको संयुक्त लगानी रहने छ ।
आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, ईआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्नेछन् । सन् २०२२ भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्