खेलकुद क्षेत्रमा आएको बजेट सकारात्मक

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा भएका समस्या निराकरण गर्ने किसिमको बजेट आएको बताएका छन् ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा चर्चा गर्दै अध्यक्ष श्रेष्ठले बजेट घटेर आए पनि खेलाडीको हकहितका लागि बजेट आएको बताएका हुन् । आगामी आर्थिक वर्षको खेल क्षेत्रको बजेट चालू आर्थिक वर्षको भन्दा २८ करोडले कमी हो । खेलकुद क्षेत्रका समस्यालाई निराकरण गरेर खेल क्षेत्रबाट राष्ट्रको गौरव बढाउने, खेलाडीको भविष्य सुनिश्चित गर्ने र खेल क्षेत्रलाई विस्तार गर्ने बजेट सकारात्मक भएको अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले बढी मात्रामा क्रिकेटलाई प्राथमिकता दिएको, अन्य सम्भावना भएका खेलको विषयमा भने बजेटलाई प्राथमिकता नदिएको टिप्पणी गरे । खेलकुदमा खेलाडीलाई टिकाउन लागि उपलब्ध गराउनुपर्ने सेवा सुविधामा कमजोरी भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । विविध कारणले चालू आर्थिक वर्षमा छुट्ट्याइएको बजेट सदुपयोग हुन नसक्दा सरकारले नयाँ आर्थिक वर्षमा खेलकुदको बजेट घटाएको कतिपयले विश्लेषण गरेका छन् । सरकारले खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनिक निजी साझेदारीमा शाहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ । जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर स्थापना गर्न बजेट विनियोजन गरेको बजेटमा उल्लेख गरेको छ भने निर्माणाधीन केही पूर्वाधारलाई पूरा गर्ने पनि जनाएको छ । यस्तै सरकारले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बीमाको प्रबन्ध गर्ने जनाएको छ भने एसियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजीवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ ।