Logo

बजेट कार्यान्वयनमा सत्तारुढ नेकपा एसकै आशंका

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/०८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका छन् ।
उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । अध्यक्ष नेपालले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिए । उनले भने, “आम रुपमा राम्रो पक्ष के छ भन्दाखेरी विभिन्न कृषि पद्धार्थहरुको उत्पादनमा जोड दिने कुराहरु गरिएको छ” उनले भने, “योजनाहरु राम्रो देखिएपनि कार्यान्वयनको पक्ष बडो फितलो छ ।”
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमि कमजोरीलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए । बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्