Logo

सुदूरपश्चिम प्रदेशलाई लगानीको क्षेत्रको रुपमा विकास गर्ने तयारी

धनगढी-सुदूरपश्चिम प्रदेशले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा लगानी गर्ने वातावरण वनाउने विषयलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिने भएको छ ।
प्रदेश सभाको सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० को बजेटको सिद्धान्त र प्राथमिकता पेश परेका हुन् । उनले सो क्रममा लगानी सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गरी सुदूरपश्चिम प्रदेशलाई लगानीको क्षेत्रको रुपमा विकास गरिने बताए । “सरकारी, निजी तथा सहकारी क्षेत्रको सहकार्यमा कृषि, शिक्षा, स्वास्थ्य, पुर्वाधार, उद्योगमा लगानी वृद्धि गरी तीव्र आर्थिक वृद्धि हासिल गरिने छ” मन्त्री रावलले भने, “प्रदेश सरकारले हासिल गरेको विकास, समृद्धि र सुशासनलाई संस्थागत गर्दै नागरिकको आयस्तर र जीवनस्तर वृद्धिमा आगामी वर्षको बजेट केन्द्रित हुने छ ।”
प्रदेश सरकारको नयाँ बजेटले जडिबुटी उत्पादन, संकलन, प्रशोधन र बजारीकरण सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गरी जडिबुटी उत्पादन तथा प्रशोधन उद्योग स्थापनालाई प्रोत्साहन गर्ने नीति लिने भएको छ । मन्त्री रावलले आधारभूत उपभोग्य वस्तु उत्पादन तथा बजार प्रवद्र्धन गर्ने विषयलाई पनि बजेटको प्राथमिकतामा राखिने बताए । उनले तुलनात्मक रुपमा उच्च लाभ भएका वस्तुको उत्पादन गरी निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने विषय बजेटको प्राथमिकतामा रहेको बताए ।
स्वरोजगार मार्फत युवालाई सीप, पुँजी र प्रविधि उपलब्ध गराई स्वरोजगार बनाउन आगामी वर्षको बजेट केन्द्रित गरिने मन्त्री रावलले बताए । उनले स्वदेशी तथा स्थानीय श्रम, सीप, पुँजी, प्रविधि र कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनलाई आगामी वर्षको बजेटले उच्च प्राथमिकतामा राखेको जनाए ।
बहुआयामिक गरिवीमा रहेका नागरिकलाई विकासको मुल प्रवाहमा ल्याउनका लागि सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा सञ्चालित योजनाहरुमा प्राथमिकताका साथ संलग्न गराउने विषय पनि बजेटको प्राथमिकतामा परेको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि कृषि क्षेत्रमा नवितम प्रविधिहरुको प्रयोगलाई प्रवद्र्धन गरिने मन्त्री रावलले जनाए । उनले निजी क्षेत्रको सहभागितामा प्रदेशमा रहेका पर्यटकीय स्थलहरुमा सडक, खानेपानी, शौचालय जस्ता पूर्वाधारहरु विकास गरिने जनाए ।
सुदूरपश्चिम प्रदेश सभाको दशौं तथा पाँचौं बजेट अधिवेशन सोमबार सुरु भएको छ । प्रदेश सरकारको आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता (पुर्व बजेट) माथि मंगलबारबाट छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख अर्जुनबहादुर थापाले सभाको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बोलाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि योजना छनौटको काम भइरहेको छ । मन्त्री रावलले आगामी आर्थिक वर्षमा बढी भन्दा बढि जनसमुदायलाई लाभ पुग्ने खालका योजनाहरुलाई प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्