बजेटपछि पनि नेप्से उच्च अंकले गिरावट «

बजेटपछि पनि नेप्से उच्च अंकले गिरावट

आगामी आर्थिक वर्ष २०७९/०८० बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।
बजेटपछि तथा साताको पहिलो कारोवार सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२२ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेका छन् ।
नेप्से परिसूचक गिरावट आएपनि बलेफी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.२३ प्रतिशत बढेको छ । यता १ वर्षपछि कारोबारमा आएको नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सेयरमूल्य ७ प्रतिशत भन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा ४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्टिलरी ४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्