Logo

विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।
मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
आइतबार कास्कीको पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको कलसाइन नाइन एन एइटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्ने सानोसुरेमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जना सवार थिए ।

खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।
संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।
घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए । घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ ।
पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्