Logo

बजेटको प्रतिरक्षामा अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सरकारले राम्रो बजेट ल्याउने कोसिस गरेको र कार्यान्वयन पनि गर्ने कोसिस गर्ने बताएका छन् । संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गरेको भोलिपल्ट सोमबार अर्थ मन्त्रालयमा आफ्नो बजेटको प्रतिरक्षा गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको दाबी पनि गरे ।
उत्पादन वृद्धि गर्ने कुरा, आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलब वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धित छ भनेर भन्न नमिल्ने उनको दाबी छ । उनले चार वर्षअघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न नमिल्ने बताए । अर्थमन्त्री शर्माले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार नै बजेट आएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्ने, गरिबीको अन्त्य गर्ने, हाम्रा स्रोतसाधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको स्पष्ट पारे ।
अर्थमन्त्रीले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको तथा बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दाबी समेत गरे । चालू आर्थिक वर्षको आफैंले ल्याएको बजेट पनि कार्यान्वयन गर्न नसकेको आरोप खेपिरहेका अर्थमन्त्रीले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको पनि स्विकारे । अर्थमन्त्री शर्माले बजेट पूर्ण र उत्कृष्ट नभए पनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको भन्दै प्रतिरक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्