काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ र पदभार ग्रहण

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि दुवैले महानगरपालिकाको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।
निर्वाचन सम्पन्न भएको १८ दिनपछि मेयर शाहले सोमबार निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुका साथै शपथ ग्रहण गरेका हुन् । उनलाई प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराएका थिए । अधिकृतसँग नेपालीमा शपथ लिएपछि शाहले नेवारी भाषामा छुट्टै शपथ पनि लिएका थिए ।
आफूले शपथ लिएपछि मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराएका छन् । बालेनले नेपालीमा पढेको शपथ डंगोलले नेवारीमा उल्था गरेर पढेकी थिइन् । दुई दिन लगातार सार्वजनिक बिदा परेका कारण निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र जनप्रतिनिधिले शपथ लिएका हुन् ।
सोमबार काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बसेको छ । बैठकमा नवनिर्वाचित प्रमुख शाहले तत्काल फोहोर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । पदभार ग्रहण गरेपछि सञ्चालन गरिएको पहिलो बैठकमा प्रमुख शाहले तीन दिनदेखि उठ्न नसकेको काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गरेका हुन् ।
उनले कार्यपालिका सदस्यहरुमाझ तत्काल दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्न र नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जानुपर्ने धारणा राखे । प्रमुख शाह, उपप्रमुख सुनिता डंगोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि सोमबार पहिलो बैठक बसेको हो । प्रमुख शाहको निर्देशनमा कार्यपालिका बैठकले प्रत्यक्ष प्रशारण गरिएको थियो ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा नवनिर्वाचित मेयर शाहलाई शपथ गराएका थिए । लगत्तै प्रमुख शाहले उपप्रमुखमा निर्वाचित सुनिता डंगोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए । उपप्रमुख डंगोलले नेपाल भाषामा शपथ लिएकी थिइन् । प्रमुख शाहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए ।
शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित शाह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डंगोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी भएका थिए । समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गरे । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार शाह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डंगोल निर्वाचित भएका थिए । गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो ।
महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो । वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब १ लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।