Logo

सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भन्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेएका अध्यक्ष ओलीले बजेट अनुचित, बिना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको झन्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिनु भएको हो । बजेट अनुचित ढंगले, विनासिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढन पार्टीका अध्यक्ष ओलीले निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।’
बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा अध्यक्ष ओली, पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाँण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण दिएका थिए । त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोगकै पूर्वसदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्