आव २०७९/८० को बजेटमा युवा तथा खेलकुदको क्षेत्र

सरकारले युवा स्टार्टअप कार्यक्रमअन्तर्गत युवाहरूलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरूलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रमअन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरूसँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गरे । अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने पनि बताए ।
उनले भने, ‘युवाहरूलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।
देशको जनसांख्यिक लाभको रुपमा रहेका युवाहरूको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
प्राविधिक तथा व्यावसायिक सिपसहितको कर्जा कार्यक्रमलाई निरन्तरता दिएको छु ।
स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरू सँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिनेछ ।
म्यादी प्रहरीको रुपमा राष्ट्र सेवामा संलग्न युवाहरूलाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रीत कार्यक्रम सञ्चालन गरिनेछ । उनीहरूको रुचिको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइनेछ । म्यादी प्रहरीलाई सञ्चित सुरक्षा दलको रुपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
जुम्लाको कोप्लापाटन लगायत स्थानमा हाइ अल्टिच्युट स्पोर्टस् एण्ड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
काठमाडौंको मुलपानी निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आवभित्र सम्पन्न गरिनेछ । किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रीकालीन खेल खेल्न सकिनेगरी स्तरोन्नती गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने छ ।
नवौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
दशौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार गरिनेछ ।
एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छु ।
बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला तथा खेलग्रामको निर्माण गरिनेछ ।’
मन्त्री शर्माले खेल पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभयो ।