Logo

स्थानीय सडक निर्माणमा कार्यदल स्थानीय युवालाई मासिक २४ हजार तलब

पलाँता गाउँपालिकाले स्थानीय सडक निर्माणका लागि कार्यदल बनाएको छ । कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणकार्यमा काम गरेको हो ।
गाउँपालिकाले स्थानीय सडक निर्माणका लागि कार्यदल तयार गरेपछि रोजगारीका लागि विदेश जाने युवाको समस्या टरेको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । “दक्ष जनशक्ति बाहिरिने र विकास कार्यमा बाधा आइपर्ने समस्या अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको छ ।” उनले भने, “खाद्यान्नकोे चरम अभाव हुने पलाँता सुक्खा खडेरी क्षेत्र हो । यहाँका स्थानीयलाई आफ्नै खेतबारीको उत्पादनबाट तीन महिना धान्न हम्मे–हम्मे पर्छ ।”
गाउँमा हुने विकास निर्माण कार्यमा काम गरेवापत कार्यदलका सदस्यहरूले मासिक २४ हजार पाउने गरेको पलाँता गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए । “कार्यदलका सदस्यहरूले दिनमा आठ घण्टा काम गरेवापत आठ सय रुपैयाँ पाउँछन् ।” उनले भने, “कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माणकार्य गर्ने गरेका छन् ।”
कार्यदलका सदस्यहरूले सामाजिक लगानी कोषवापत महिनामा २ हजार जम्मा गर्ने गरेको र त्यसरी जम्मा गरिएको रकम उनीहरूले विपद् जोखिम न्यूनीकरण कार्यमा खर्च गर्नेछन्,” गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । “महिनाको २ हजार वयक्तिगत मुद्दती खातामा जम्मा गर्ने गरेका छन् ।” उनले भने, “भविष्यका लागि कार्यदलका सदस्यहरूले व्यक्तिगत मुद्दती खातामा रकम जम्मा गर्ने गरेका हुन् ।” उनले भने, “कार्यदलका सदस्यका लागि १ लाख ५० हजार दुर्घटना बिमा गरिएको छ ।”
कार्यदलका सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धित सडक निर्माण आयोजनामा नै ब्यवस्था गर्ने गरिएको छ वडा नं ९ का अध्यक्ष टक्कबहादुर बमले भने । “विदेशीने युवाहरूलाई रोजगारी दिएर स्थानीय विकास निर्माण प्रक्रियामा सहयोग पु¥याएको छ ।” उनले भने, “स्थानीयस्तरमा सहजै रोजगारी प्राप्त भएपछि युवाहरूमा जोशजाँगर बढेको छ ।”
पलाँता गाउँपालिकाले प्रत्येक वडाबाट १०/१० जना र गाउँपालिका अध्यक्षको सिफारिसमा १० जना गरी एक सयजनाको कार्यदल निर्माण गरिएको छ ।

नगरले सडकको मापदण्ड तोक्यो
जिल्लाको रास्कोट नगरपालिकाले नगरभित्र सडकको मापदण्ड तयार पारेको छ । नगरभित्र ब्यवस्थित सडकको मापदण्ड तयार पारेको हो । नगरभित्रका मुख्य सडकहरूको चौडाइ १२ मिटर र सहायक सडकको चौडाइ ८ मिटर अनिवार्य हुनुपर्ने नगरपालिकाले निर्णय गरेको रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बरालले बताए । “नगरपालिकाका मुख्य सडक र आसपासका सडकहरूको मापदण्ड मिचेर बनाइएका घर, टहरा तथा अन्य भौतिक संरचना हटाउने निर्णयसमेत भएको छ,” उनले भने ।

रमेश रावल

प्रतिक्रिया दिनुहोस्