Logo

स्थानीय र सुरक्षाकर्मी शव संकलनमा जुट्दै

वेपत्ता भएको तारा एयरको विमान थासाङको सानुसारेमा भेटियो

आइतबार बिहानदेखि वेपत्ता भएको तारा एयरको विमान दुर्घटना भएको अबस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सानुसारेमा दुर्घटना भई क्षत्विक्षत् भएको अस्बस्थामा उक्त विमान सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका बरिष्ठ सई दुर्गानाथ पौडेलले बताए ।
सुरक्षाको तीन वटै अंग सहित स्थानीयहरु हाल घटना स्थलमा पुगि शव संकलन कार्यमा जुटेको उनले जनाए । यार्सागुम्बा संकलन गर्न गएका स्थानीयले सोमबार बिहान उक्त विमान दुर्घटना भएको स्थान पहिचान गरे पछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । मानापाथी हिमाल भन्दा मुनिको ठुलो पहाडमा उक्त विमान ठोकिन पुग्दा विमान जल्नुभन्दा धेरै टुक्राहरु तितर वितर भएको स्थानीयले बताएका छन् ।
आइतबार पोखरा विमानस्थलबाट विहान ९ः५५ बजे उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान १२ मिनेटमै पोखरा विमानस्थलबाट सम्पर्क विहिन भएसंगै उक्त विमानको आइतबार बेलुकासम्म हेलिकाप्टरको सहायताले खोज्दा समेत भेटाउन सकिएको थिएन् ।
वेपत्ता भएको उक्त विमानका खोजि गर्न नेपाली सेना र फिस्टेल एयरको हेलिकोप्टरले केही घण्टा मुस्ताङको टुकुचे, पासाङ, खसाङ लगायतको क्षेत्रमा अवलोकन गरे पनि केही पत्ता लगाउन सकेन ।
विमानका पाइलट प्रभाकर घिमिरेको मोवाइलमा घण्टी गए पनि फोन भने उठ्न सकेको थिएन । जोमसोम विमानस्थलदेखि करिब ६ किलोमिटर क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको हुन सक्ने स्याटलाइटले प्रक्षेपण गरेको थियो ।
उक्त बिमानको चालकमा क्या. घिमिरे, विमान परिचालिका किस्मी थापा र विमानका अर्को एक सदस्य इस्सव पोखरेल रहेको पोखरा विमानस्थलको कार्यालयले जनाएको छ । उक्त विमानमा १९ जना यात्रु ३ जना चालक दलका सदस्य रहेका थिए । उक्त जहाजमा १६ नेपाली र भारतीय नागरिक सहित ६ जना विदेशी रहेको खुलेको छ । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
आइतबार हेलिकोप्टरबाट वेपत्ता विमानको खोजी गर्दा माथिल्लो भागमा प्रतिकुल मौसम बादल सहितको कुहिरो भएको कारणले गार्द खोजि कार्यमा कठिन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उक्त विमानको खोजि कार्यमा पैदल हुदै आइतबार देखि नै ६५ जनाको एक टोली खटिएको प्रजिअ आचार्यले जनाए । नेपाल प्रहरी, नेपाली सेना , सशत्र प्रहरी बल सहितको टोली वेपत्ता भएको विमानको खोजिमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्