भूमिहीन दलितलाई आवास

सरकारले तीन वर्षभित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिबद्धता जनाइएको हो । त्यसैगरी बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि बजेटमा समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताए । उनले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष भित्र ३० प्रतिशत कम गर्ने बताए । अर्थमन्त्री शर्माले भने,“आधारभूत कृषि उत्पादन धान, मकै, गहँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने । आगामी वर्ष निर्यात दोब्बर गर्ने । आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने । मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने । भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने, वार्षिक आठ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकांक ०.६५ पु-याउने ।”