बजेटको तयारीमा जनप्रतिनिधि «

बजेटको तयारीमा जनप्रतिनिधि

दाङ-प्रदेश सरकारले १ असारमा बजेट ल्याउने तयारीमा रहेका छन् त्यस भन्दा पहिले नीति कार्यक्रम ल्याउने छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइ सक्नु पर्ने संवैधानिक वाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् । त्यसैअनुसार नव निर्वाचित जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुट्न थालेका छन् । निर्वाचनका कारण बजेट तथा योजना छनोटका कामसमेत प्रभावित हुन पुगेको थियो ।
निर्वाचित भएर आएका जन प्रतिनिधिले बजेट तथा योजना छनोटको काम सुरु गरेका हुन । घोराही उपमहानगरपालिका वडा नं १९ मा अहिले जनप्रतिनिधिहरु टोल टोलमा पुगेर नागरिकबाट योजना ल्याउने काम सुरु गरेको घोराही उपमहानगर पालिका वडा नं १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले जानकारी दिए । उनीहरुले टोल टोलमा पुगेर टोल विकास संस्थामार्फत योजना छनोट गरेर ल्याउने उनले बताए । “नागरिकबाट उनीहरुको योजना ल्याउने काम सुरु गरेका छौ्र” अध्यक्ष रायमाझीले भने । नागरिकबाट योजना छनोट गर्दा त्यस क्षेत्रको वास्तविक आवश्यकताका योजना छनोट हुने उनको भनाइ छ । उनीहरु बाट अति आवश्यक पर्ने योजना छनोट गर्न लगाएर योजना ल्याइने उनले बताए । २० जेठसम्ममा बस्ती स्तरबाट योजना ल्याइ सक्ने योजना रहेको उनले बताए ।
योजना तथा बजेटका काम छिट्टै सुरु गरिने घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । केही दिनमै बैठक बसेर वडाको बजेटको सिलिङ पठाइने उनले बताए । वडालाई चालु आर्थिक वर्षको बजेट भन्दा नघटने गरी बजेट पठाइने उनले बताए । वडाहरुले बस्ती स्तरबाट योजना छनोटको काम सुरु गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत केसी बताउँछन् । “बस्ती स्तरबाट योजना छनोट गर्नका लागि नगरपालिकाको चिठी पर्खनु पदैन” प्रमुख प्रशासकीय अधिकृत केसीले भने । नगरपालिकाले औपचारीक रुपमा बैठक पछि पत्र पठाउने उनको भनाइ छ ।
लमही नगरपालिकाले आन्तरुक तयारी सुरु गरेको जनाएको छ । बस्ती स्तरमा केही समयपछि गएर योजना छनोट गर्न काम गरिने लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए । वडाहरुलाई योजना छनोटका लागि छिट्टै परिपत्र गरिने उनको भनाइ छ ।
बंगलाचुली गाउँपालिकाले पनि बस्ती स्तरबाट योजना छनोटको काम सुरु गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेयले वडाहरुले बस्तीमा पुगेर योजनाहरु छनोट गर्न काम सुरु गरेको जानकारी दिए । “वडाहरुले अहिले बस्तीस्तरमा पुगेर योजना छनोट गर्न सुरु भएको छ” प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले बताए । वडाहरुलाई चालु आर्थिक वर्ष अनुसार नै बजेट रहने उनको भनाइ छ । जिल्लाका अन्य पालिकाहरु पनि बजेट तथा योजनाको तयारीमा रहेको जनाएका छन् । जिल्लाका २ उप–महानगरपालिका १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्