कालिगण्डकीका प्रत्येक घरमा इन्डक्सन चुल्हो

स्याङ्जा-स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्दै आएका करिब ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै पालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने लक्ष्यसहित पहिलो निर्णय गरिएको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
“घरघरमा रहेका ग्यासका सिलिण्डर संकलन गर्ने र इन्डक्सन चुल्हो दिने निर्णय गरेका छौं” अध्यक्ष थापाले भने, “निःशुल्क रुपमा चुल्हो उपलब्ध गराउने निर्णय गाउँसभाको आउँदो बैठकबाट पारित गरेर लागू गरेर कार्यान्वयनमा लैजान्छौं ।”
कालीगण्डकीलाई २ वर्षभित्र धुँवारहित पालिका बनाउने लक्ष्य राखिएको बनाउँदै थापाले आयातित ग्यासको प्रतिस्थापन गर्दै विद्युतको प्रयोगमा बल पु-याउने बताए । उनले दिएको जानकारी अनुसार यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्सन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो ।
दलित समुदायमा सञ्चालित कार्यक्रम प्रभावकारी भएसँगै गाउँपालिकाभरि इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडी सारिएको छ । धुँवारहित गाउँपालिका बनाउने निर्णय भएसँगै चुल्होचौकोमा काम गर्दै आएका स्थानीय उत्साहित भएका छन्
गाउँपालिकाले विद्युतको पहुँच सबै घरधुरीमा पु-याउने अभियानअन्र्तगत विगत २ वर्षदेखि न्यूनतम विद्युत महसुल भुक्तानी गर्दै आएको छ । गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क उपलब्ध गराउँदै आएको छ ।