स्वस्थ्य सुधारका लागि संसारका लागि फाइजरको सम्झौता

फाइजर इन्कले ‘स्वस्थ संसारका लागि एक सम्झौता’ को सुरुवात गरेको छ ।
यस पहलको उद्देश्य अमेरिका र युरोपेली संघमा उपलब्ध फाइजरका सबै प्याटेन्ट, उच्च गुणस्तरका औषधिहरू र भ्याक्सिन ४५ कम आय भएका देशहरूका १.२ बिलियन मानिसलाई गैर–नाफाको आधारमा उपलब्ध गराउने हो । यो सम्झौताले कम आय भएका देशहरू र बाँकी विश्वका बीचमा रहेको स्वास्थ्य असमानतालाई धेरै हदसम्म कम गर्न सहयोग गर्ने छ ।
सम्झौतामा संलग्न देशहरूमा सबै २७ न्यून आय भएका देशहरू र विगत १० वर्षमा निम्नबाट निम्न–मध्यम आय वर्गीकरणमा परिणत भएका १८ निम्न–मध्यम आय भएका देशहरू समावेश छन् । फाइजरले रूवाण्डा, घाना, मलावी, सेनेगल र युगान्डाका स्वास्थ्य सेवा अधिकारीसँग मिलेर काम गर्ने छ र सबै औषधि र खोपहरू आवश्यक परेकाहरूसम्म पुग्न सक्छ भनेर सुनिश्चित गर्नेछ । यसमा निदान, स्वास्थ्यकर्मीको व्यावसायिक शिक्षा र तालिमको साथसाथै आपूर्ति शृंखला व्यवस्थापन र अन्य पूर्वाधार संवद्र्धनलाई सहयोग गर्ने विशेषज्ञता समावेश हुने छ । यी पाँच देशको अनुभवको आधारमा बाँकी ४० देशमा यो सम्झौतालाई कार्यान्वयनमा ल्याइने छ ।
फाइजरले यी देशहरूमा नयाँ औषधि र खोपहरू उपलब्ध गराउन लाग्ने लामो समयलाई कम गर्न द्रुत र प्रभावकारी नियामक मार्गहरू र खरिद प्रक्रियाहरू पहिचान गर्न एकर्ड सहभागीसँग सहकार्य गर्नेछ ।
सम्झौता अन्तर्गत, फाइजर संक्रामक रोगहरू, निश्चित क्यान्सरका साथै दुर्लभ र सुन्निने रोगहरूको उपचार गर्ने २३ औषधि र खोप उपलब्ध गराउन प्रतिवद्धता जनाएको छ । यस्ता औषधि र खोपहरू सजिलैसँग उपलब्ध हुँदा प्रत्येक वर्ष सर्ने तथा नसर्ने रोगहरूका कारण मृत्युवरण गर्न बाध्य लगभग १० लाख मानिसको ज्यान जोगिन सक्ने भन्दै फाइजरले कम्तीमा पाँच लाखभन्दा बढीको जीवनको गुणस्तरलाई असर गर्ने दीर्घकालीन रोगको उपचार गर्ने क्षमतामा वृद्धि हुने जनाएको छ । फाइजरले नयाँ औषधि र खोपहरू सार्वजनिक गर्दा, ती उत्पादनलाई पनि नाफारहित आधारमा सम्झौताको छाता भित्र समावेश गरिने जनाएको छ ।
सम्झौताले फाइजरको पाइपलाइनमा रहेका भावी औषधिहरू र खोपहरू ४५ देशहरूमा, विशेष गरी विश्वव्यापी स्वास्थ्यलाई असमान रूपमा असर गर्ने रोगहरूको उपचार गर्न गैर–नाफाको आधारमा छिटो पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ । यस प्रतिबद्धतालाई अगाडि बढाउन, फाइजरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा समूह बी स्ट्रेप्टोकोकस (जीबीएस) को रोकथामका लागि खोप विकासको काम अगाडि बढाइरहेको छ, जुन मृत नवजात पैदा हुनुको एक प्रमुख कारण हो । उनीहरुले रेस्पिरेटरी सिन्सिटियल भाइरस (आरएसभी) खोप विकास, अर्को मातृ खोपमा पनि सहयोगका लागि छलफल गरिरहेका छन् ।