जनता प्रसारण तथा प्रकाशनले आईपीओ जारी गर्ने

जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा आईपीओ जारी गर्ने भएको छ ।
सेयर कारोबार र आईपीओ जारी गर्ने सम्बन्धमा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा जनताका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष पौडेलले जनता आईपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको सुरुवात हुने बताए । उनले लगानीकर्ताले व्यक्तिगत लाभ र उद्देश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन् भन्ने जनगुनासोको समेत अन्त्य हुने बताए ।
ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ढकालले नेपालको सेयर बजारमा मिडिया क्षेत्रको आईपीओ पहिलोपटक जारी हुन लागेको बताए ।
झण्डै १२ सयभन्दा बढी सर्वसाधरण सेयरधनीको संस्थापक सेयर लगानी रहेको जनता प्रसारण तथा प्रकाशनले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डटकम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ ।