Logo

२२ संस्थान नाफामा, १९ घाटामा

सार्वजनिक संस्थानबाट सरकारलाई लाभांश आधा घट्यो

कोभिड महामारीका कारण गत आर्थिक वर्षमा सरकारी स्वामित्वका संस्थानहरूको वित्तीय स्थिति सन्तोषजनक हुन नसक्दा सरकारले प्राप्त गर्ने लाभांश पनि आधाभन्दा बढी घटेको छ । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक संस्थाबाट सरकारले कुल ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । यो लाभांश अघिल्लो आवाको तुलनामा ५२.३३ प्रतिशतले कम हो । गत आवसम्ममा यी संस्थानमा नेपाल सरकारको कुल लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ९.१८ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । सरकारको लगानीको तुलनामा यो लाभांश १.१८ प्रतिशत मात्र हो ।
मन्त्रालयका अनुसार सञ्चालनमा रहेका कुल ४१ सार्वजनिक संस्थानमध्ये २२ संस्थान नाफामा छन् भने १९ संस्थान घाटामा सञ्चालन भएका छन् । नाफामै रहेका संस्थानमध्ये अधिकांशको नाफाको वृद्धिदरसमेत घटेको छ । सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७९ अनुसार नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ । सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूको नाफा दुई वर्षयता निरन्तर घट्दै आएको छ । कोभिड संक्रमणले गर्दा नाफा घटे पनि सरकारले भने सन्तोषजनक भनेको छ । यी संस्थानको कार्यासम्पादनमा केही संकुचन आए पनि समग्र वित्तीय स्थिति सन्तोषजनक रहेको सरकारको दाबी छ ।
तथ्यांककाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा संस्थानको कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा १.५१ प्रतिशतले वृद्धि भएर ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ । सार्वजनिक संस्थानहरूले २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् भने यो नाफा अघिल्लो वर्षको तुलनामा ४५.४२ प्रतिशतले कमी हो ।
मन्त्रालयका अनुसार अघिल्लो वर्ष २४ वटा संस्थानले नाफा गरेका थिए भने १८ वटा संस्थानले घाटा बेहोरेका थिए । दुई संस्थानको कारोबार शून्य छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.३८ प्रतिशतले वृद्धि भएको जनाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सेयरधनी कोष/नेटवर्थ गत आर्थिक वर्षको तुलनामा ७.३६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ७२ करोड ९१ लाख भएको छ ।

नाफामा प्राधिकरण र घाटामा वायुसेवा अगाडि
अर्थमन्त्री जनार्दन शर्माले शनिबार सार्वजनिक गरेको सार्वजनिक संस्थानहरूको वित्तीय स्थिति २०७९ अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने संस्थान विद्युत् प्राधिकरण रहेको छ भने सबैभन्दा नोक्सानीमा नेपाल वायुुसेवा निगम रहेको छ । प्राधिकरणले गत आवमा १२ अर्ब १२ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ भने चालू वर्ष यो संस्थानको नाफा १४ अर्ब ३८ करोड ९८ लाख पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, सबैभन्दा बढी घाटा बेहोर्र्नेमा नेपाल वायुसेवा निगम जसले गत आवमा ३ अर्ब ८३ करोड २१ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।
बढी नाफा कमाउने कम्पनीहरूमा प्राधिकरणपछि क्रमशः नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेञ्जलगायत छन् । यस्तै, घाटामा रहेका संस्थानमध्ये वायुसेवा निगमपछि क्रमशः आयल निगम, खानेपानी संस्थान, औषधि लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्टलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्