पुतली बजारद्वारा पाँच दर्जन बढी योजना माग

स्याङ्जा-स्याङ्जा सदरमुकामको पुतली बजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग पाँच दर्जन बढी योजना माग गरेको छ । नगरपालिकाको स्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजना प्रदेश सरकारसँग माग गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीमार्फत विषयगत मन्त्रालयसँग झण्डै पाँच दर्जन योजना माग गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग कांग्रेस स्याङ्जाका सभापति तथा संविधानसभा सदस्य राजु थापा, नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालको नेतृत्वमा गएको टोलीले योजना माग गरेको छ ।
“भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सबैभन्दा बढी योजना माग गरिएको छ,” नगरप्रमुख रेग्मीले भने, “ऊर्जा जलस्रोत तथा खानेपानी, शिक्षा तथा सामाजिक विकास र युवा खेलकुद मन्त्रालयसँग उत्तिकै संख्यामा योजनाहरू माग गरिएको छ ।” नगरप्रमुख रेग्मीका अनुसार नगरपालिकाले माग गरेका योजना तत्काल सम्बोधन गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रतिबद्धता जनाएका छन् ।
स्रोतका आधारमा नगरबाटै सञ्चालन हुने योजना निर्माण गर्न पुतलीबजार नगरपालिकाले प्रक्रिया अगाडि बढाएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तयारीमा रहेको नगरपालिकाले लागतका आधारमा ठूला योजना संघीय र प्रदेश सरकारसँग माग गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयसँग ग्रामीण सडकको स्तरोन्नतिदेखि स्वास्थ्य केन्द्र भवन निर्माणका योजना समावेश गरी माग गरिएको छ । ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयसँग स्याङ्जा बजारको खानेपानी व्यवस्थित गर्नेदेखि बडहरे, बहाकोट, पातलेखर्क, मायाटारी, छोरेखोला, गौडेबजार, धोवादी खानेपानी र आँधीखोला, बाडखोला तथा अरौदीखोला तटबन्धन गर्ने योजना माग गरिएको टोलीमा सहभागी कांग्रेस स्याङ्जाका नेता मनोज मल्लले जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्रालयसँग रजस्थल, खल्लुबोट, बेलबास, पेल्काचौर, तारेभित्ता र गैयामा खेलकुद मैदान निर्माण तथा स्तरोन्नति गर्न माग गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयसँग बडहरे बतासे, रोकाहा कुल मन्दिर, मनकामना, कुनाखेत, सेनवंशको मन्दिर निर्माण गर्न माग रिएको छ भने नेवारखोला, मदर्शा, भुजेल, तारेभित्ता, खसआर्य संग्रहालय र सामुदायिक भवन निर्माण गर्न बजेट माग गरिएको छ ।
नगरमा समावेशी तथा समानुपातिक आधारमा तथा जनसहभागितामा विकासलाई अगाडि बढाउन लागेको नगर उपप्रमुख देवी अर्यालले बताइन् । उनका अनुसार नगरका सबै क्षेत्र, वर्ग र समुदायको समुचित विकास गर्नु नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको छ । सहर केन्द्रित विकासलाई ग्रामीण भेगमा पु¥याउन आवश्यक रहेको समेत उपप्रमुख अर्यालले बताइन् ।