Logo

सर्वोच्च अदालतको फैसलालाई अविवेकी :पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन् ।
वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमुना भएको आरोप लगाए । उनले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थलबाहेक अन्य हुनै नसक्ने जिकिरसमेत गरे । उनले निजगढ विमानस्थल बनाएपछि काठमाडौंको एयर ट्राफिकमा भएको समस्या पनि समाधान हुने बताए । वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल बनाउनका लागि सरकारले अर्बौं रुपैयाँ खर्च गरिसकेको र साथमा काठमाडौंलाई मधेससँग जोड्ने द्रुतमार्गसमेत बनिरहेको भन्दै निजगढ विमानस्थलको अर्को विकल्प निजगढ नै भएको दाबी गरे । उनले सर्वोच्चले सीमित व्यक्तिहरूले दिएको निवेदनको आधारमा विमानस्थल बनाउन रोक लगाएको आरोपसमेत लगाए ।
वरिष्ठ नेता पौडेलले आफूले विमानस्थलको प्रत्यक्ष अवलोकन गरिसकेको र त्यहाँको वतावरण मास्नुपर्ने आवश्यक्ता अहिले नरहेको पनि स्पष्ट पारे । उनले विमानस्थलका लागि जंगल फडानी गर्ने काम पहिल्यै भइसकेको र अहिले त्यहाँ बसेको बस्तीलाई सारेर विमानस्थल निर्माण गर्नमात्रै बाँकी रहेको बताए । वरिष्ठ नेता पौडेलले सर्वोच्चले गरेको निर्णय वास्तविकतामाथि मेल नखाएको भन्दै फैसला गर्ने न्यायाधीशहरूलाई विमानस्थलको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरे । उनले केही ब्यूरोकेसीहरूले वातावरण मासिने नाउँमा विमानस्थल नबनाउन चलखेल गरिरहेको आरोपसमेत लगाए ।

सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा दूरगामी असर : डा. बाबुराम
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले सो विमानस्थलको विकल्प नरहेको तर्क समेत गरे । शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वीरगन्जजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोडने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्ने काम सर्वोच्चबाट जसरी भएको छ, त्यसले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएकाले बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको पनि स्मरण गराए । भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्