काठमाडौंबासीले नै बञ्चरेडाँडामा फोहोर फालन दिएनन् : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् ।
नयाँ सहर युटिलिटी करिडोर तथा सहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरिन् । उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाइन् । मन्त्री झाँक्रीले सबै न्यायाधीश प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत चुनौती दिइन् । उनले सरकारले विमानस्थलको बुटामात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताइन् ।
मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्मा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गरिन् । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुन नसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन् । उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्ने भन्दै व्यंग्य गरिन् । मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गरिन् । उनले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंबासीहरूले नै त्यहाँको जग्गा किनेर स्थानीयलाई उचालेको आरोप लगाइन् ।