Logo

पूर्वपदाधिकारीलाई सुविधा उपलब्ध गराउने कार्यदल भंग गर्न माग

पोखरा-गण्डकी प्रदेशका पूर्वपदाधिकारीहरुलाई सुविधा र सुरक्षा उपलब्ध गराउने गठन भएको कार्यदल भंग गर्न कास्कीका ५ दलले आग्रह गरेका छन् । प्रदेश सरकारले मुलुकको अर्थतन्त्रमा उत्तारचढावहरु देखिएको तथा जनताका आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्दै विकास निर्माण कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा कुनै पनि नाममा सेवा सुविधा थप गर्ने कार्यलाई उचित मान्न नसकिने कास्कीका सक्रिय ५ दलहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त दल भंग गर्न माग गरेका हुन् ।
तुरुन्त गठित कार्यदल भंग गरी जनपक्षिय काममा केन्द्रित हुन गण्डकी प्रदेश सरकार समक्ष पाँच दलले जोडदार माग समेत गरेका छन् । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमु, जसपा नेपाल कास्कीका अध्यक्ष गिरी प्रसाद गुरुङ, नेकपा (एस) कास्कीका उपसचिव पूर्ण लामा र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालले संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेका हुन् ।
प्रदेशको मन्त्रीपरिषद्ले भूतपूर्व पदाधिकारीलाई केकस्तो सेवा, सुविधा दिन सकिन्छ भनेर सोही सुविधा दिन तयारी कार्यदल गठन गरेको हो । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव संयोजक, अर्थ र कानुन मन्त्रालयका सचिव सदस्य रहने गरी ३ सदस्य रहेका छन् ।
कार्यदलले तयार गर्ने मस्यौदा अनुरुप सेवा सुविधा तय उपलब्ध गराइन्छ । आफ्नो कार्यकाल सकिन लाग्दा पछिको लागि राज्यको सम्पत्ति माथि प्रयोग गर्नु उचित नभएको प्रदेश बासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्