Logo

भ्रष्टाचारमुक्त र सुशासनयुक्त महानगर बनाउने लक्ष्य छ

नागेश कोइराला मेयर, विराटनगर महानगरपालिका

संविधान कार्यान्वयनको महत्वपूर्ण पाटोका रूपमा रहेको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मुलुक संघीयतामा गएपछिको दोस्रो स्थानीय निर्वाचनबाट जनप्रतिनिधिहरू चयन भएर आइसकेका छन् । जनताबाट अनुमोदित भएर आएका जनप्रतिनिधिहरूले विभिन्न योजनाहरू अघि सारेका छन् । जनताको घरदैलोमा भेटिने भएपछि स्थानीय सरकारबाट जनताको अपेक्षा पनि बढी नै रहेको पाइन्छ । देशको आर्थिक र राजनीतिक नगरीको उपमा पाएको विराटनगर महानगरपालिकामा पनि नयाँ नेतृत्व निर्वाचित भएर आएको छ । नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएर आएका नागेश कोइराला आफ्नो अग्निपरीक्षा सुरु भएको बताउँछन् । विराटनगरको मेयर पदका लागि जिल्लादेखि केन्द्रसम्म आकांक्षीहरूको तँछाडमछाड चलेको थियो । ठूलो रस्साकस्सीका बीच सबैलाई उछिन्दै मोरङका कांग्रेस उपसभापतिसमेत रहेका कोइरालाले बाजी मारे । तरुण दलको पूर्वजिल्ला सभापति उनी मोरङ कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै उपसभापतिसम्म भएका हुन् । महानगरभित्रको भ्रष्टाचारलाई शून्यमा झार्ने उद्घोषका साथ चुनावी मैदानमा होमिएका कोइरालाले करको दर घटाउने र दायरा बढाउने प्रतिबद्धता जनाएका छन् । पाँच वर्षभित्र विराटनगरवासीले चाहेजस्तो विराटनगर बनाएरै छाड्ने मेयर कोइरालाको उद्घोष छ । भ्रष्टाचारमुक्त, सुशासनयुक्त, शान्त, सुन्दर, सफा, हरियाली बनाउने उद्घोष गरेका नवनिर्वाचित मेयर कोइरालासित कारोबारकर्मी मीनकुमार नवोदितले निर्वाचित भएपछिको अनुभव, आगामी योजनालगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सार :

मेयर बन्नुभयो, तपाईंको जितको आधार के हो ?
मैले टिकट पाउँदाखेरि नै चुनाव जितिसकेको महसुस गरेको थिएँ । किनभने मेरो कुनै उद्देश्य छैन । एउटै उद्देश्य विराटनगर बनाउने हो । विराटनगरका जनताले मेयरमा नागेश कोइराला नै आए हुन्थ्यो भन्ने थियो । अर्को कुरा, म यही माटोमा जन्मिएँ, हुर्किएँ । सबैथोक आफ्नो जस्तो लाग्छ । यहाँको सबै चिजले मलाई पनि आफ्नो जस्तो देख्छ । मेरो जित अस्वाभाविक होइन । सुरुदेखि नै मलाई विराटनगरवासीले जिताउनुहुन्छ भन्ने थियो र अन्तिम परिणाम यही नै आयो । जितको आधार पनि यही हो । मेरो इमानदारिता, राजनीतिमा मेरो सक्रियता, सामाजिक कार्यमा मैले खेलेको भूमिका, विराटनगरवासीको माया नै मेरो जितको आधार हो भन्ने लाग्छ ।

पार्टीको राजनीति गरिरहेको व्यक्ति एक्कासि जनताको बीचमा गएर निर्वाचित हुन कतिको गाह्रो पर्दो रहेछ ?
हो, म पार्टीको राजनीतिमा लामो समयदेखि सक्रिय थिएँ । तरुण दलको जिल्ला अध्यक्ष, पार्टीको कोषाध्यक्ष, सचिव हुँदै अहिले उपसभापति छु । पार्टीमा रहँदा पनि मैले जनताकै सेवा गरें । एक्कासि म मेयरको उम्मेदवार भएको होइन । मेरो तयारी अगाडिदेखि नै थियो । अघिल्लो स्थानीय निर्वाचनमा पनि म आकांक्षी थिएँ । तर, मैले टिकट पाइनँ । यसपटक पार्टीले ममाथि न्याय ग-यो, टिकट पाएँ । पार्टीको राजनीति गर्दा पनि जनताकै बीचमा थिएँ म । राजनीतिमा लाग्नु भनेको समाजसेवा नै हो । फरक यतिको पार्टीको राजनीति गर्दा पार्टीका साथीहरूलाई मात्रै भेट्दा पुग्थ्यो भने निर्वाचनमा उम्मेदवार बन्दा सबै जनताको साथ र सहयोग आवश्यक पर्दो रहेछ । मैले निर्वाचनलाई इजी नै लिएको थिएँ । पार्टीले टिकट दियो भने निर्वाचन जित्छु भन्ने मलाई पहिलादेखि नै लागेको थियो । यसपालि पार्टीले टिकट दियो जितें । यसलाई मैले सामान्य रूपमा लिएको छु ।

निर्वाचित भएपछि कस्तो अनुभव भइरहेको छ ?
मेयरको काम एकदमै महत्वपूर्ण रहेको महसुस गरेको छु । विजय -यालीमा जाँदा चोकचोकमा जनताले रोकेर राखेका अपेक्षा र मायाले मलाई जनताको अपेक्षा तथा चाहना पूरा गर्ने चुनौती थपेको छ । नागेशले जादुको छडी घुमाएर विराटनगरको विकास गर्छ भन्ने आमअपेक्षा रहेको मैले पाएको छु । जादुको छडी घुमाएजसरी विकास हुने र विद्यमान समस्या समाधान हुँदैन । तर, जनताले मबाट राखेका अपेक्षा भने पूरा गर्ने कोसिस गर्नेछु । जनताले राखेका सबै अपेक्षा पूरा गर्न नसकुँला तर पाँच वर्षमा मैले गरेको कामबाट जनताले निराश हुनुपर्ने छैन ।

मेयर बन्नुभयो, अब महानगरवासीका लागि तपाईंका मुख्य प्राथमिकता के हुन् ?
डुबान समस्या समाधान गर्न नसकेसम्म विराटनगरको विकास सम्भव छैन । विराटनगरको सबैभन्दा ठूलो समस्या भनेकै डुबान हो । विराटनगरमा केही वर्ष पहिलेसम्म यस्तो समस्या थिएन । विकास पूर्वाधार थपिँदै गएका, सहरीकरण बढ्दै गएसँगै विराटनगरमा डुबानको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । विराटनगरमा सामान्य वर्षा हुँदा पनि डुबान हुन थालेको छ । तीव्र रूपमा भइरहेको सहरीकरणले प्राकृतिक रूपमा पानीको निकास हुने ठाउँहरू थुनिएका कारण हो, सडक, पूर्वाधार निर्माणका क्रममा पानीको निकासलाई ध्यान नदिइएका कारण वा पानीको प्राकृतिक निकासहरू अतिक्रमणमा परेर डुबान भएको हो । डुबान के कारणले भइरहेको छ भन्ने पहिचान गरेर त्यसको उचित निकास खोज्ने मेरो योजना छ । पहिले विराटनरको डुबानका कारण पत्ता लगाउने र के गर्दा पानीको निकास हुन्छ भन्ने उपयासमेत पत्ता लगाउने त्यसपछि डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने मेरो सोच छ । डुबानको समस्या समाधानका लागि विज्ञहरूको राय सुझाव लिएर अघि बढ्ने योजना बनाएको छु । यस्तै अर्को प्राथमिकता भनेको विराटनगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नु हो । अहिले विराटनगरमा वितरण भइरहेको धाराको पानी पिउन योग्य छैन । विराटनगरको मानगढ खानेपानी योजनाले वितरण गरेको र अन्य क्षेत्रमा वितरण गरिएका धाराको पानी पिउनयोग्य छैन । नेपाल खानेपानी संस्थानको पानी र विराटनगरका अन्य क्षेत्रमा वितरण गरिएका धाराको पानीलाई पाँच वर्षभित्रमा यहाँका बासिन्दाले ढुक्कसँग पिउन सक्ने बनाउने मेरो योजना छ । विराटनगरमा बिछ्याइएका खानेपानीको पाइपलाइन धेरै पुरानो भइसकेको छ । पुराना फलामका पाइपबाट पानी वितरण गर्दा प्रदूषित पानी घरका धारामा पुगिरहेको छ । पुरानो पाइपलाइन पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने देखिन्छ । यस्तै विराटनगरको मानगढ खानेपानी योजना यस क्षेत्रमा नमुनाका रूपमा रहेको छ । खानेपानी संस्थानमार्फत वा उपभोक्ता समितिमार्फत जुन मोडलमा भए पनि विराटनगरको धाराको पानी पिउन योग्य बनाएर विराटनगरवासीका घर–घरमा पु¥याउने योजना छ ।

पद ग्रहण गर्दा करको दर घटाउने र दायरा बढाउने भन्नुभएको छ । यसले आमजनतालाई कस्तो प्रभाव पार्ला ?
यो सिरियस म्याटर हो, जसको व्यापार/व्यवसाय छैन । पुख्र्यौली घर मात्र छ । उहाँहरूको आम्दानी छैन भने कर कसरी तिर्छन् ? एक कठ्ठामा घर बनाएर बसेकालाई २०–२५ हजार रुपैयाँ कर तोकिएको छ । घरअगाडि सटर छैन, जागिर खाँदैन र खेतको आम्दानीबाट कर तिर्न गाह्रो हुन्छ । त्यस कारणले यो कुरालाई बुझेर करको दायरा बढाउने र कर घटाउने कुरा गरेको हुँ । अहिले बैंकिङ कारोबार गर्नेले मात्र कर तिरेको देखिन्छ । यीबाहेकका विराटनगरवासीलाई हामीले पनि कर तिर्नुपर्छ भन्ने महसुस गराएर कर तिर्न लगाएर त्यही करको दायरा बढाउने भनेको र अनि त्यही तिरेको करबाट घटाउने निर्णय गरेर अगाडि बढ्न खोजिएको हो ।

विराटनगर महानगर भएर पनि सबै वडामा आधारभूत सुविधा जस्तो कि स्वास्थ्य, शिक्षा, सडक, बिजुली र पानीको व्यवस्था छैन, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मैले के सोच बनाएको छु भने विराटनगर ७७ सय स्क्वायर किलोमिटर छ । यसभित्र अधिकांश ठाउँमा विकास निर्माण, सामाजिक कार्यलगायत स्वास्थ्य, शिक्षा पहुँच बाहिर रहेको पाइएको छ । महानगरको बजेट एउटा कुरा भयो । त्यसले सबैतिर भ्याउँदैन । ७ सय किलोमिटर सडकको नेटवर्क छ । नाला र ढल पनि त्यति नै छ । त्यसका कारण दातृ संस्था खोज्ने । जसले लगानी गर्न तयार हुन्छ । सक्दो अनुदान लिने प्रयास गर्ने र त्यही अनुदानले सबै काम गर्ने हो । शिक्षाको हकमा एक वडामा एक सामुदायिक विद्यालय निजीस्तरको बनाउने । स्वास्थ्यको हकमा वाडको क्लिनिक बनाउने । त्यो निःशुल्क हुनेछ । आफ्नो वडा नम्बर ९ वटा सुरुवात गर्ने । यो सफल भयो भने सबै वडामा सुरु गरिनेछ । औषधि किन्नुपर्ने र ल्याब परीक्षण गराउनुपर्ने हुन्छ । त्यसका लागि पैसा हुन्न । महानगरपालिका स्तरीय अस्पताल स्थापना गरेर निजी अस्पताल र निजी क्लिनिकले दिने बराबरको सेवा सुविधा नगरवासीलाई सहुलियत दरमा दिइने छ । यसको व्यवस्था आफ्नो कार्यकालभरिमा गर्ने तयारी गरेको छु ।

धेरै काम गर्न त स्रोत पनि चाहियो नि, महानगरको आन्तरिक स्रोतले पुग्ला त ?
महानगरको आफ्नै स्रोत कमी छ । आन्तरिक स्रोतले धेरै काम गर्न सकिँदैन । ठूलो आयोजनाका लागि संघीय, प्रदेश सरकार र दातृ निकायबाट सहयोग लिनुपर्छ । आन्तरिक स्रोतबाट सानातिना काम मात्रै गर्न सकिन्छ । अब बढीभन्दा बढी स्रोतको व्यवस्थापन गरेर महानगरवासीको चाहना पूरा गर्ने लक्ष्यका साथ अघि बढेको छु ।

महानगरका अधिकांश सडकको ढलमाथि पेटी छ । त्यो पेटी पनि अतिक्रमण गरेर पैदल यात्रीलाई हिँडडुल गर्न समस्या छ । फोहोर उस्तै छ, यसलाई कसरी व्यवस्थापन गर्ने ?
फोहोर उठाउने ठेक्का लिएको कम्पनीले सालमा दुईचोटि फोहोर उठाउने कन्ट्र्याकमा साइन गर्दो रहेछ । पद सम्हालेको धेरै दिन भएको छैन, मलाई यसबारे खासै आइडिया त छैन । मैले के भनेको छु भने सरसफाइवाला र सरोकारवाला विभागकालाई बोलाएर सबै नाला सफा गर्न र नगर प्रहरीलाई कडा निर्देशन दिएर राजनीतिक प्रेसर चल्दैन यहाँ, जसले बाटो अतिक्रमण गरेर कारोबार गरेको छ सब रोकिदेऊ, बाटोमा भएका सबै सामान निकाल, तेस्रो वा दोस्रो लेन प्रयोगमा आएका छैन भने त्यसलाई पनि सरसफाइ गरेर प्रयोगमा ल्याउन तयारी गर, कसैले राजनीतिक दबाब दिन्छ भने त्यो हामी थाम्छौं, अगाडि बढ भनेका छौं । नगर प्रहरीले काम सुरु गरिसकेको छ । सडक अतिक्रमण हटाउने, निर्माण सामग्री राख्ने जस्ता गतिविधिलाई निस्तेज बनाउने काम सुरु भइसकेको छ ।

वर्षा सुरु हुन लाग्यो, डुबान समस्या समाधानका लागि के छन् योजना ?
ढल निकास र डुबानको सबैभन्दा बढी र ठूलो समस्या छ । त्यसका लागि महानगरका सबै इन्जिनियरलाई बोलाएर खाका बनाउन भनेको छु । सोमबारसम्म त्यो खाका लिएर आउन भनेको छु । डुबानबाट अहिले अल्पकालीन रूपमा कसरी मुक्ति पाउन सकिन्छ भनेर सोधेको छु । किनभने अब बर्खा लाग्यो । नाला सफा गर्ने टोली खटाइसकिएको छ । सँगसँगै इन्जिनियरहरूलाई खाका लिएर आऊ, त्यो खाकाअनुसार कहीं बनाउनुपर्ने छ भने बनाउन र भत्काउनु पर्नेछ भने भत्काउन निर्देशन दिइसकेको छु । बाढी विराटनगरमा पस्नु भएन भनेको छु । अहिले शतप्रतिशत नहोला, २०–४० प्रतिशत काम भए पनि नगरवासीले राहत पाउँछन् ।

चुनावमा भोट माग्न जनताको बीचमा पनि पुग्नुभयो, खास गरी जनताको चाहना के पाउनुभयो ?
विराटनगरवासीको त्यति ठूलो चाहना छैन । महानगरका सबै सडक कालोपत्रे होस्, सफा होस्, सार्वजनिक स्थानमा शौचालय होस्, शुद्ध खानेपानी धारामा आओस् भन्ने नै छ । हरेक सडकलाई कालोपत्रे बनाउन तत्काल सम्भव नहोला । भएका सडकलाई सफा बनाउन सकिन्छ, शौचालय बनाउन सकिन्छ । खानेपानीको पनि व्यवस्थापन गर्न सकिन्छ ।

विराटनगरलाई राजनीतिको उर्वरभूमि पनि भनिन्छ । तर पछिल्लो समय विराटनगरको साख गुम्दै छ भन्ने आमनागरिकको गुनासो छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
विराटनगरबाट सातजना प्रधानमन्त्री गए देश बनाउनलाई । उनीहरूले देश मात्र बनाए विराटनगर बनाएनन् । अब हामी आएका छौं विराटनगर बनाउनलाई र बनाउने पनि हो । हामीले जसरी घोषणापत्रमा लेखेर जनताको बीचमा गएर चुनाव जितेर आएका छौं, त्यही अनुसार काम गर्छौं । आज जुन विराटनगर छ, हिजोको विराटनगर समस्यामा थियो । दुईतिहाइ बहुमतको तत्कालीन नेकपाको सरकारले विराटनगरलाई महानगरका रुपमा हेरेको थिएन । महानगरपालिका राजनीतिक दबाबमा जबर्जस्ती बनाएको जस्तो देखिन्छ । बन्दै गर्दा के गरेको देखिन्छ भने प्रदेश सरकार पनि नेकपाको अनि स्थानीय तहचाहिँ कांग्रेसको । अनि सरकारले महानगरलाई उपमहानगरपालिकाको नजरले ट्रिट गरेपछि कसरी महानगरपालिका बनोस् । त्यसका लागि खुला मनले महानगरपालिका बनाउन दिनुप-यो । अब त्यो नियति महानगरले भोग्दैन, काम हुन्छ ।

विराटनगरको अर्को पहिचान छ औद्योगिक नगर । तर बिस्तारै यहाँका उद्योग धमाधम पलायन हुँदै गएका छन् नि ?
उद्योगका हकमा के छ भने पुराना र सरकारी उद्योगको एउटा कुरा भयो । समस्या यहाँ १२–१३ हजारवटा कटेज उद्योगहरू दर्ता भएका रहेछन् । तीमध्ये ५–६ हजारवटा मात्र चलेका रहेछन् । ती कसरी विस्थापित भए र विराटनगर छाडेर गए भन्ने हेर्नुपर्ने परिस्थिति छ । हाम्रो नीति, नियम र करको विषयमा कमीकमजोरी रहेछ भने त्यसलाई सुधार गरेर उद्योगीको चित्त बुझाएर ती उद्योगहरू पुनः सञ्चालन गर्न र नयाँ उद्योग स्थापना गर्ने वातावरण बनाइनेछ । सरकारी क्षेत्रका उद्योगका हकमा जुट मिलका मेसिन सबै पुराना भइसके, नयाँ मेसिन ल्याएर चलाउने स्थिति छैन । संघीय र प्रदेश सरकारसँग पहल गरेर त्यही उद्योग चलाउने वा नयाँ उद्योगहरू स्थापना गरेर हजारौंको संख्यामा जागिर दिन सकिने अवस्था छ ।

विगतमा कर्मचारीले सहयोग नगरेको, नगरमा भ्रष्ट कर्मचारीको बाहुल्य रहेको र संघीय सरकारले पटकपटक कार्यकारी अधिकृत सरुवा गरेर काम गर्न नदिएको पूर्वजनप्रतिनिधिको गुनासो थियो नि ?
एकै परिवार भएर काम गर्नुपर्छ । मुहानमा म छु । मुहान नै सफा छ भने त्यहाँबाट निस्केको सङ्लो पानी तलसम्म पुग्ला नि ! आज नजाला, भोलि नजाला, एक दिन त मुहानबाट निस्केको सङ्लो पानी तल पुग्ला नि । माथि मुहानमा पिउने पानी छ भने तल पनि पुग्ला नि, कति दिन छेकेर छेकिन्छ र ! मैले वचन दिएर आएको छु, त्यो मेरो एजेन्डाभन्दा माथिको कुरा हो, यो भ्रष्टाचार गर्दा पनि गर्दिनँ र गर्न पनि दिन्नँ र गर्नेलाई सहँदा पनि सहन्नँ । यो कुरा मिटिङमा पनि राखिसकेको छु । सबै स्टाफ र महानगरका परिवारका सदस्यलाई राखेर यो कुरा भनिसकेको छु । त्यहीअनुरूप महानगर अगाडि बढ्छ । अब समय नपुगी कार्यकारी अधिकृतको सरुवा नगर्न संघीय सरकारलाई दबाब दिन्छु ।

राजधानीको संरचनाका लागि जग्गा व्यवस्था गर्न महानगरले सहयोग नगरेको गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
राजधानीको संरचना निर्माणका लागि महानगरपालिकाले गर्न सक्ने सबै किसिमको सहयोग गर्न तयार छ । प्रदेश सरकारले सहयोग र सहकार्यका लागि आग्रह गरेको खण्डमा महानगरपालिकाको तर्फबाट गर्ने सहयोगबाट पछि हट्नेछैन । विराटनगरमा प्रदेशको राजधानीका संरचना निर्माण हुनुपर्छ भन्नेमा महानगरपालिका छ । विराटनगरमा प्रदेशका स्थायी संरचना तयार भए मात्रै प्रदेशको राजधानीले पूर्णता पाउने भएकाले प्रदेशका स्थायी संरचना बनाउने विषयमा महानगर प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न सधैं तत्पर छ ।

अहिलेको र पाँच वर्षपछिको विराटनगरमा नगरवासीले के फरक देख्न पाउँछन् ?
विराटनगरले धेरै सम्भावना बोकेको छ । हामीले प्रयोग गर्न सकेको छैनौं जस्तो लाग्छ । अबको पाँच वर्षपछि पर्यटकीय विराटनगर, स्वच्छ, सफा, सुरक्षित, हरियाली, आत्मनिर्भर र समृद्ध विराटनगरवासीले पाउनेछन् ।

-पार्टीको राजनीति गर्दा पनि जनताकै बीचमा थिएँ म । राजनीतिमा लाग्नु भनेको समाजसेवा नै हो । फरक यतिको पार्टीको राजनीति गर्दा पार्टीका साथीहरूलाई मात्रै भेट्दा पुग्थ्यो भने निर्वाचनमा उम्मेदवार बन्दा सबै जनताको साथ र सहयोग आवश्यक पर्दो रहेछ ।

-जादुको छडी घुमाएजसरी विकास हुने र विद्यमान समस्या समाधान हुँदैन । तर, जनताले मबाट राखेका अपेक्षा भने पूरा गर्ने कोसिस गर्नेछु । जनताले राखेका सबै अपेक्षा पूरा गर्न नसकुँला तर पाँच वर्षमा मैले गरेको कामबाट जनताले निराश हुनुपर्ने छैन ।

-महानगरको आफ्नै स्रोत कमी छ । आन्तरिक स्रोतले धेरै काम गर्न सकिँदैन । ठूलो आयोजनाका लागि संघीय, प्रदेश सरकार र दातृ निकायबाट सहयोग लिनुपर्छ । आन्तरिक स्रोतबाट सानातिना काम मात्रै गर्न सकिन्छ ।

-सडक अतिक्रमण हटाउने, निर्माण सामग्री राख्ने जस्ता गतिविधिलाई निस्तेज बनाउने काम सुरु भइसकेको छ ।

-विराटनगरबाट सातजना प्रधानमन्त्री गए देश बनाउनलाई । उनीहरूले देश मात्र बनाए विराटनगर बनाएनन् । अब हामी आएका छौं विराटनगर बनाउनलाई र बनाउने पनि हो । हामीले जसरी घोषणापत्रमा लेखेर जनताको बीचमा गएर चुनाव जितेर आएका छौं, त्यही अनुसार काम गर्छौं ।

-अबको पाँच वर्षपछि पर्यटकीय विराटनगर, स्वच्छ, सफा, सुरक्षित, हरियाली, आत्मनिर्भर र समृद्ध विराटनगरवासीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्