वडाबाटै लोकप्रिय निर्णय «

वडाबाटै लोकप्रिय निर्णय

गुल्मी – गुल्मीमा नवनिर्वाचित वडाध्यक्षले वडाबाटै लोकप्रिय निर्णय गरेको छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ का वडाध्यक्ष लिलाधर आचार्यले लोकप्रिय निर्णय गरेका हुन् ।

आफूसहित ४ जना वडा सदस्य निर्वाचित भएपछिको पहिलो बैठकबाट आफुहरूले स्वास्थ्य बिमा र शिक्षाको क्षेत्रमा काम गर्ने निर्णय गरेको वडाध्यक्ष लिलाधर आचार्यले जानकारी दिए । “वडाका विपन्न नागरिकहरू स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेकोले वडाकै बजेटबाट पहिलो निर्णय स्वास्थ्य र शिक्षामा गरेका हौं ।” वडाध्यक्ष आचार्यले भने, “विपन्न घरपरिवारको पहिचान गरेर विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा र निशुल्क शिक्षा प्रदान गर्ने छौं ।” उनका अनुसार अब वडाका कुनै पनि नागरिक स्वास्थ्य उपचार र शिक्षाबाट बञ्चित हुने छैनन् ।

वडामा बसेको पहिलो बैठकले दलित वा गैरदलित जूनसुकै नागरिक भए पनि विपन्नको स्वास्थ्य विमा गर्ने, आर्थिक अभावले विद्यालय शिक्षाबाट बञ्चितलाई वडाले सहयोग गरेर शिक्षाको पहुँचमा पु-याउने र लक्षित समूह विभाजन गरेर काम गर्ने निर्णय गरेको हो । नगरपालिकाले वडालाई विनियोजन गर्ने बजेटबाट आफूहरूले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष आचार्यले बताए । वडाका कुनै पनि नागरिक आर्थिक अभावका कारणले स्वास्थ्य र शिक्षाबाट बञ्चित नहुने वडाध्यक्ष आचार्यको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्