Logo

प्रतिव्यक्ति आम्दानी १,३८१ डलर

चालू आर्थिक वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार रूपैयाँले वृद्धि भएको छ । अमेरिकी डलरमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/०७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक १ लाख ४६ हजार ५ सय २१ रूपैयाँ रहेकोमा चालू आर्थिक वर्ष १८ हजार रूपैयाँ बढेको हो।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९, सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेश प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।
हाल अर्थतन्त्रमा उपभोगको हिस्सा ९०.७ प्रतिशत बराबर छ, जुन गत आर्थिक वर्षमा ९२.३ प्रतिशत थियो । यस्तै, उपभोगमा ११.५ प्रतिशत वृद्धि भएको छ ।
अर्थमन्त्री शर्माका अनुसार चालू आर्थिक वर्ष अर्थतन्त्र ५.८४ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ । अघिल्लो वर्ष ४.२५ प्रतिशत वृद्धि भएको थियो । चालू आवमा कृषि २.३ प्रतिशत, उद्योग ८.१ प्रतिशत र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । चालू आवमा मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ ।
चालू आवमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रदेश नम्बर १ मा ५.४१ प्रतिशत, मधेश प्रदेशमा ४.८२ प्रतिशत, बागमती प्रदेशमा ६.७४ प्रतिशत गण्डकी प्रदेशमा ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३६ प्रतिशत, कर्णाली प्रदेशमा ५.७४ प्रतिशत र सुदूरपश्चिममा प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा पहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमै हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ । आर्थिक सर्वेक्षणअनुसार चालू वर्षको चैत मसान्तसम्म कुल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । चालू आवमा १ हजार ६ सय २९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्