टहरामा जिउनै गाह्रो «

टहरामा जिउनै गाह्रो

“उ….यही हो, मेरो सानो टहरो । चिसो पनि के विधि आजभोलि । दिम्सो त ठिकै हुन्छ, घाम लाग्छ, । साँझ परेसी अत्यास लाग्ने । आजको रात कसरी कटाउने । उफ ! कुरा गरे कुरैको दुःख । नयाँ घर देख्न नपाउँदै मरिने होकि क्या हो,” दोलखा तामाकोशी गाउँपालिका झुलेकी तीर्थमाया कार्कीले एकै सासमा भनिन्, “बिहान खायो बेलुका के खाने भन्ने चिन्ता छ । पहिलो किस्ताको पैसा नि उ…त्यही छोराको उपचारमा सकियो । अहिले छोरो अपांग छ, उठ्न–बस्न सक्दैन । साह्रै दुःख पाइयो बाबै ।”
उनी उमेरले ८० कटिन् । भनिन्छ– छोराछोरी बुढेसकालका सहारा हुन्छन् । छोरा नै नसक्दाका लौरी हुन् । तर उनी ३० वर्षे अपांग छोरोको सहारा बनेकी छिन् । बिहान–बेलुकीको छाक टार्न निकै मुस्किल छ उनलाई । सबैले नयाँ घर बनाउन थालिसके । झन् झन् मुटु भक्कानिन्छ उनको । रहर छ उनलाई पनि नयाँ घरमा बस्न । सधै्र तपतप चुहिएको शीतले उनलाई बेला बेला लाग्छ, धेरै नबाँचिने भइयो । श्रीमान्ले संसार छोडेर गएपनि छोरो छ, केही गर्ला, अब त सुखको दिन आइहाल्छ भन्ने आशामा जिउन्थिन् । तर, उनलाई त्यो दिन कहिल्यै नआउने भयो । आफू के खाने अपांग छोरालाई के खुवाउने चिन्ता छ उनलाई । घर बनाउने त कसरी हो सोचेकी पनि छैनन् ।
एक वर्षअघि मटरसाइकलले ठक्कर दिएको छोरा सधैंका लागि अपांग भयो । उल्टो छोराको उपचारका लागि ७ लाख ऋण लाग्यो । छोरालाई उपचार गर्न वीर अस्पताल लगिन् । ७ दिनसम्म भोकभोकै छोराको हेरचाहमा बसिन् । अहिले पनि घरमा खाने केही छैन ।
नयाँ घरमा चौरासी गर्ने रहर छ उनको । तर, घर बनाउने कुनै मेलामेसो छैन ।
३० वर्षे छोरा चेतबहादुर कार्कीलाई युवा उमेरमै ओछ्यानमा थलिनुको पीडा पहाडभन्दा ठूलो छ । “सक्ने भएको भए निमेक गरेर नि आफू र आमालाई सजिलै पाल्न सक्थें, घर बनिसक्थ्यो होला,” टिलपिल आँसु पार्दै उनले भने, “के गर्नू, दशा लाग्यो । नयाँ घर बनाउने पहिलो किस्ता नि उपचारमै सकियो, सरकारले दिएको पैसाले घर बनाउन पुग्दैन रे । ऋण नि कल्ले पत्याउला र ?”
केशरी कार्कीको पीडा पनि कम छैन । मुटुरोगले थलिएकी छिन् उनी । घरमा खान लाउनै दुःख छ, कसरी ऋण खोजेर घर बनाउने तनावमा छिन् । “श्रीमान् त छन् तर बिहानैदेखि रक्सी खाएर हिँड्ने हो, लालाबाला कसरी पाल्नु, आफू मुटुरोगी । साह्रै दुःख भयो,” उनी भन्छिन्, “सधैं टहराको बास कहालीलाग्दो छ, घर बनाउन केले ? ३ लाखले पुग्दैन रे, ढुवानी खर्चै महँगो छ, ऋण कसले पत्याउँछ र ?”
झुलेकै अम्मरबहादुर नेपालीको पीडा कम छैन । टहराको बासले सधैं कष्ट छ उनलाई । उमेरले ७० कटिसके । लौरो टेक्दै गाउँतिर बनाइरहेका नयाँ घरहरू हेर्न जान्छन्, झन् मन कुडिन्छ । कसरी बनाउने चिन्ता उनलाई पनि उस्तै छ । नयाँ घरमा जीवन जिउने रहर उनलाई पनि उस्तै छ । “छोरा काठमाडौंतिर छन् रे, आफू बूढो मान्छे, कसरी घर बनाउने खै,” उनी भन्छन् “नयाँ घरमा बस्ने रहर पूरा नहुँदै मरिने पो हो कि।” 

प्रतिक्रिया दिनुहोस्