Logo

विपन्नलाई डाक्टर, इन्जिनियर पढाउँदै तातोपानी

प्रदेश : कर्णाली
जिल्ला : जुम्ला
स्थानीय तह : तातोपानी गाउँपालिका
अध्यक्ष : नन्दप्रसाद चौलागाई
उपाध्यक्ष : रेवती रावल
प्रमुख प्रशासकीय अधिकृत : मिलन बुढ्थापा
वडा संख्या : ९
क्षेत्रफल : ५२५.५१ वर्गकिमि
जनसंख्या : १७, ८३४
घरधुरी : ३, ११६

नेपालको संविधान, २०७२ को धारा २९५ (३) बमोजिम स्थापना भएका मुलुकका ७५३ स्थानीय तहमध्ये एक हो, जुम्लाको तातोपानी गाउँपालिका । तातोपानीले संघीयताको पहिलो पाँच वर्षमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पूर्वाधारलगायतका क्षेत्रको आधारभूत विकास गरेको छ । यस पालिकाको पूर्वमा चन्दननाथ नगरपालिका, पश्चिममा तिला, उत्तरमा सिंजा गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्लासँगको व्यापारिक, कूटनीतिक सीमा सम्बन्ध समधुर बनाएको छ ।
जुम्लाका आठ पालिकामध्ये कृषि, पर्यटन र जडीबुटीको प्रचुर सम्भावना रहेको तातोपानीले बितेको पाँच वर्षमा पालिकाका आठवटै वडामा ग्रामीण सडक पु-याएको छ भने गाउँपालिकाको केन्द्रसमेत तातोपानी–३, लिताकोटमै तोकिएको छ ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट तातोपानी गाउँपालिकाको अध्यक्षमा नन्दप्रसाद चौलागाई र उपाध्यक्षमा रेवती रावल विजयी भएकी छन् । निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष तथा आठवटै वडाका वडाध्यक्षहरूको पहिलो बैठकले तातोपानीका विपन्न, दलित, अल्पसंख्यकलाई डाक्टर र इन्जिनियर पढाउने निर्णय गरिएको छ ।
अध्यक्ष चौलागाईंले भने, “अघिल्ला जनप्रतिनिधिले जनताका आधारभूत आवश्यकतालाई पहिचान गरी विकास गरेका छन् । हामीले ती विकासलाई संस्थागत गर्ने जिम्मेवारी पाएका छौं । धेरै महत्वकांक्षी निर्णय योजना बनाउने, धेरै बोल्नेभन्दा धेरै परिणाममुखी काम गर्ने सोचमा छौं ।”
पहिलो बैठकबाट प्राथमिकताका साथ तातोपानीका विपन्न, दलित, अल्पसंख्यकलाई ५० प्रतिशत अनुदानमा डाक्टर र इन्जिनियर पढाउने निर्णय गरेका छौं । अध्यक्ष चौलागाईंले थपे, “आगामी चालू आवबाट पालिकाका तीन जना विपन्न जेहेनदार विद्यार्थीलाई पढाइनेछ । स्नातक तहको डाक्टर र इन्जिनियर पढाइको जति लाग्छ त्यति ५० प्रतिशत पालिकाले तिर्नेछ भने पढाइ सकेर विज्ञता हासिल गरिसकेपछि तीन वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने सर्त तोकेका छौं ।”
पालिकाले डाक्टर, इन्जिनियर पढाउने निर्णय भनेकै तातोपानीमा पहिलो डाक्टर जन्माउने लक्ष्य हो भने आर्थिक अभावले प्राविधिक धार पढ्न नपाएकालाई राहतका लागि पनि अनुदानमा इन्जिनियर पढाउने निधो गरेको उनको भनाइ छ ।
साथै, जनप्रतिनिधिको पहिलो बैठकले डाक्टर, इन्जिनियर पढाउनेसहित चारवटा महत्वपूर्ण निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । पालिकाभरिका २८ वटै विद्यालयका बालबालिको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, समयको पालना गर्न तातोपानी टाइम्स लागू गर्ने र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमालाई निरन्तरता दिने निर्णय भएको बुढ्थापाको भनाइ छ ।
नवनिर्वाचित उपाध्यक्ष रेवती रावलले योजनाको प्रभावकारी अनुगमन, गाउँमै नागरिकलाई छिटोछरितो न्याय सम्पादन, सीमा साँधका समस्या समाधान र महिला सशक्तीकरणका सवाललाई विशेष प्राथमिकता दिने बताइन् ।
पालिकाले डाक्टर, इन्जिनियर पढाउने तीन जनामध्ये एक जना किशोरी अनिवार्य गरिनेछ भने विगतका जनप्रतिनिधिले गरेका अनुकरणीय कामलाई निरन्तरता दिन थप ऐनकानुन निर्माणलाई जोड दिइने उपाध्यक्ष रावलको भनाइ छ ।
करिब ५२५.५१ वर्गकिमिमा छरिएर रहेका तातोपानीका सबै विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पु¥याउन, पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिनेछ । गाउँगाउँमा सिंहदरबार झल्काउने, नागरिकलाई संघीयताको महसुस गराउने र सेवा प्रवाहलाई छिटोछरितो गर्न डिजिटल प्रणाली लागू गरिने जनाइएको छ ।
वडागतका सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्यचौकी भवन, पर्यटकीय पदमार्ग निर्माणलगायतका पूर्वाधार निर्माणलाई पूर्णता दिन आगामी नीति तथा कार्यक्रममा समेटिने तातोपानी–२ का वडाध्यक्ष चन्द्रमान बूढाले बताए । आमनागरिकका आवश्यकतालाई पहिचान गरी विकास गर्न जोड दिइने बूढाको भनाइ छ ।
जुम्लामै पहिलो खस भाषाको पाठ्यक्रम निर्माण, चारवटा बर्थिङ सेन्टर निर्माण, पालिकाभरिका २८ वटै विद्यालयमा भवन निर्माण, प्राविधिक शिक्षालय सञ्चालन, घरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क उपचार, विद्यालयमा अर्गानिक खाजा खुवाउनेजस्ता नमुना कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।
नवनिर्वाचित जनप्रतिनिधिहरू ऊर्जा, जोसजाँगरका साथ आएकाले अझै नवीनतम विकास निर्माण हुनेमा नागरिक आशावादी छन् । स्थानीय लोकबहादुर दमाई भन्छन्, “स्थानीय सरकारले नागरिकका समस्या बुझ्ने आवश्यकतामैत्री विकास गरी विपन्नको आयस्तर बढाउने आशा छ ।”
पालिकाको प्रशासनिक भवन निर्माणका लागि जगा छनोट गरेर पालिकाका नाममा समेत नामसारी भइसकेको छ भने आगामी आवमा प्रशासकीय भवन निर्माणलाई समेत संघ, प्रदेशमा पहल गरेर अघि बढाइने अध्यक्ष चौलागाईंको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्