Logo

सार्वजनिक संस्थानको घाटा बढ्यो

सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७/०७८ मा १९ नोक्सानीमा गएका छन् भने २२ वटा संस्थानले मात्रै नाफा कमाएका छन् ।
आर्थिक सर्वेक्षण २०७८/०७९ काअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/०७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा लाभांश ५२.३३ प्रतिशतले घटेको सर्वेक्षणमा उल्लेख छ । सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको नाफा दुई वर्षयता निरन्तर घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ ।
तर, सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.३८ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा सेयरधनी कोष/नेटवर्थ गत आर्थिक वर्षको तुलनामा ७.३६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ७२ करोड ९१ लाख भएको छ। समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ९.१८ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७७/७८ मा संस्थानहरुको एकीकृत खुद नाफा २६ अर्ब ३५ करोड ८८ लाख छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो खुद नाफा ४८ अर्ब २९ करोड ८२ लाख थियो । यसका साथै, आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय १.५१ प्रतिशतले बढेर ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ । साथै, आर्थिक वर्ष २०७७/०७८ सम्म सार्वजनिक संस्थानमा २८ हजार २ जना कर्मचारी कार्यरत रहेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा कर्मचारी संख्या २८ हजार ३ सय ६४ थियो ।
सर्बेक्षणले आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक संस्थानबाट सरकारले १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर संकलन गरेको पनि उल्लेख गरेको छ ।
सर्बेक्षणका अनुसार २०७८ फागुनसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४४ छ । २०७८ असारसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब १४ अर्ब ६५ करोड ७ लाख रुपैयाँ छ । सरकारले संस्थानमा २ खर्ब ५२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ ऋण लगानी पनि गरेको पनि सर्बेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्