नेपाली सेनाको कृषि विज्ञान संस्थानमा असारदेखि नियमित कक्षा «

नेपाली सेनाको कृषि विज्ञान संस्थानमा असारदेखि नियमित कक्षा

लमजुङ-नेपाली सेनाले स्थापना गरेको लमजुङको बेसीशहरस्थित कृषि विज्ञान संस्थानमा आगामी असारदेखि स्नातक तहको पढाई सुरु हुने भएको छ ।
बेसीशहर–२, बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेसँगै चालु शैक्षिक सत्र देखिनै कृषि विज्ञान संकायमा स्नातक तहको पढाई सुरु हुने भएको हो ।
सैनिक र गैर सैनिकहरुका लागि कृषि तथा भेटेरीनरी सम्वन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । स्नातक तहको पढाई सुरु गर्नका लागि सेनाले गत साउनमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको हो ।
कक्षा सञ्चालनका लागि हाल क्याम्पसमा विद्यार्थी भर्ना कार्यक्रम जारी रहेको क्याम्पस प्रमुख श्यामकृष्ण घिमिरेले बताए । हाल नेपाली सेना परिवारतर्फ र सिभिलतर्फका विद्यार्थी भर्ना सुरु भएको र आगामी असारदेखि औपचारिक रुपमा कक्षा सुरु हुने क्याम्पस प्रमुख घिमिरेको भनाइ छ ।
नेपाली सेनाले सैनिक कल्याणकारी कोष अन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढाई हुने गरी कृषि संस्थान सुरुवात गरेको हो । सो क्याम्पसमा प्रति वर्ष ४८ जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन् । सो क्याम्पस नेपाली सेनाले सञ्चालन गरेको भएपनि देशको जुनसुकै भागबाट पनि सैनिक, भूपू सैनिकका छोराछोरी र गैर सैनिकलाई पनि अध्ययनको अवसर दिने सेनाले जनाएको छ ।
क्याम्पस सञ्चालनसँगै नेपाली सेनाले सो क्षेत्रमा करिव चारसय ५० रोपनी जग्गामा व्यावसायीक कृषि उत्पादन पनि सुरु गरेको जनाएको छ । सेनाले पठनपाठनका लागि भौतिक संरचना, प्रयोगशाला छात्राबास निर्माण गर्नुको साथै गाई पालन, बाख्रा पालन, बँगुर पालन, कुखुरा पालन, फलफुल तथा तरकारी खेतीको व्यवसायीक उत्पादन सुरु गरेको संस्थानका प्राचार्य घिमिरेले बताए ।
यसअघि सैनिक, पूर्व सैनिक र गैर सैनिकलाई कृषि तथा भेटेरीनरी प्राविधिक सम्वन्धी १८ महिने शिक्षण तथा छोटो अवधीको तालिम दिँदै आएको सेनाले अब कृषि सम्वन्धी दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै स्नातक तहको पढाई सुरु गरेको जनाएको छ । दक्ष जनशक्ति उत्पादनसँगै देशमा आधुनिक र प्रविधिमैत्री कृषिको प्रवद्र्धनमा ठूलो सहयोग मिल्ने नेपाली सेनाको अपेक्षा छ ।
नेपाली सेनाले क्याम्पस सञ्चालन गरेसँगै लमजुङमा कृषि विज्ञान संकायमा स्नातक तहमा पढाई हुने दुईवटा सरकारी क्याम्पस भएका छन् । यसअघि जिल्लाको सुन्दरबजारमा पनि त्रिवि सम्वन्धन प्राप्त कृषि विज्ञान स्नातक अध्ययन तथा अध्यापनका लागि लमजुङ क्याम्पस सुन्दरबजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्