प्लास्टिक रिसाइकलिङ उद्योग खोल्न व्यवसायीको आग्रह «

प्लास्टिक रिसाइकलिङ उद्योग खोल्न व्यवसायीको आग्रह

प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि प्लास्टिक मेला सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताए । उनले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताए । अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्ने भने जरुरी रहेको बताए । उनले नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य भएको बताए ।
उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार सरकारले घटाएर पाँच प्रतिशत कायम गर्न उनले माग गरेका छन् । भन्सार लाग्ने भएकाले अहिले नेपालमा प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिएर ठूलो विकृति ल्याएको भन्दै अध्यक्ष गोल्छाले सरकारले नीति तथा कार्यक्रममा दस वर्षको उत्पादन दशक घोषणा स्वागयोग्य रहेको बताए ।
“उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा १० प्रतिशत भन्सार लाग्छ त्यसलाई घटाएर पाँच प्रतिशत कायम गर्नु पर्ने छ” उनले भने, “प्लास्टिक सामग्री उत्पादन गर्ने कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क छ । जसका कारण भारतबाट धेरै नै प्लास्टिकका सामग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिरहेका छन् ।”
उनले नेपालमा उत्पादन बढाउनुपर्छ भन्दै महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर तयार पारेकाले सरकारसँग उद्योग वाणिज्य संघ सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।
अध्यक्ष गोल्छाले बजारमा देखिएको तरलताको समस्याले निजी क्षेत्रमा निरासा छाएकाले यो वर्षको बजेट चासोले हेरिरहेको बताए । उनले निरासालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस व्याकेज ल्याउँछ भन्ने निजी क्षेत्रले आशा गरेका बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको माग अनुसार सरकारले स्वदेशी उत्पादनको दशक घोषणा गरेको बताए । उनले उद्योग परिसंघले अगाडि सारेका मेक इन नेपाल मेड इन नेपाल अभियानलाई सहयोग गर्ने घोषणा गर्नु मुलुकमा औद्योगिक वातावरण राम्रो बन्न सक्ने अवस्था बनेको बताए । अध्यक्ष अग्रवालले निजी क्षेत्रले माग गरे अनुसार घरजग्गा कारोबारलाई व्यवस्थापन गर्ने लगायतका कुरा बजेटमा समेत समेटिएर लागू हुने आशा गरिएको बताए ।
“निजी क्षेत्रको माग अनुसार सरकारले स्वदेशी उत्पादनको दशक घोषणा गरेको छ । सरकारको उद्योग परिसंघले अगाडि सारेका मेक इन नेपाल मेड इन नेपाल अभियानलाई सहयोग गर्ने घोषणा गरेको छ” उनले भने, “नीति तथा कार्यक्रममा ल्याएका कुरा सरकारले बजेटमा पनि लागू गर्ने अपेक्षा छ ।”
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्लास्टिक दैनिक जीवनमा निकै आवश्यक भएको बताए । उनले प्लास्टिक प्रयोग बढ्दै गएपनि यसको सुरक्षित व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । उनले त्यसका लागि मुलुकभित्र नै प्लाष्टिक रिसाइकलिङ उद्योग स्थापना गरिनु पर्ने बताए । प्लास्टिकबाट उत्सर्जित फोहोरको वातावरणमा दीर्घकालीन असर पर्ने भएकाले रिसाइकलिङ उद्योग स्थापना गर्न आवश्यक रहेको उनले बताए । अध्यक्ष मल्लले प्लास्टिक उद्योगीहरुले उपकरण र कच्चा पदार्थ आयात गर्दा कर लगाउने प्रथा खारेज गरिनुपर्ने बताए । उद्योगबाट प्रशोधन गरी रोजगारी दिएर हुने काममा कर लगाएकै कारण उद्योग फस्टाउन नसकेको मल्लको भनाइ छ ।
उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले मानव स्वास्थ्य र वातावरणलाई ख्याल गरेर प्लास्टिक उत्पादन गर्दा सरकारको सधैं साथमा रहेको बताए । उनले उद्योगीहरुलाई सरकारले रोकेका प्लास्टिकजन्य वस्तुको उत्पादन नगर्न अग्रह गरे । सचिव पोखरेलले सरकार एउटा उद्योगको मात्रै विषयमा नरहेर नेपालमा सम्पूर्ण उद्योगहरुलाई औद्योगिक वातावरण बनाउने पक्षमा रहेकाले निजि क्षेत्रसँग सहकार्य गर्ने बताए ।
“मानव स्वास्थ्य र वातावरणलाई ख्याल गरेर प्लास्टिक उत्पादन गर्दा सरकारको सधैं साथ रहने छ” उनले भने, “सही तरिकाले कहाँ र कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण हुन्छ । सरकारले रोकेका प्लास्टिकजन्य वस्तुको उत्पादन नगरिदिनुहोस् ।”
प्लास्ट नेपाल फाउण्डेशनले आयोजना गरेको यो तेस्रो संस्करणको प्रदर्शनी हो । कोरोना महामारीका कारण भने केही वर्षयता प्रदर्शनी रोकिएको थियो । प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने आयोजकले बताएको छ । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, कच्चा पदार्थ र मेसिनरी उपकरणहरुको स्टल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्