Logo

राजपामा अध्यक्षमण्डल प्रणाली हटाउन ‘लबिङ’

राष्ट्रिय जनता पार्टी (राजपा) को पदाधिकारी बैठकमा अध्यक्ष मण्डल प्रणाली अन्त्य गराउने ‘लबिङ’ सुरू भएको छ । वैशाख ७, ८ र ९ गते पार्टीको महाधिवेशन गर्ने अध्यक्ष मण्डलको निर्णय आन्तरिक विवादका कारण कार्यान्वयन हुन नसकेपछि पार्टीभित्र अध्यक्ष मण्डलको विद्यमान संरचना समाप्त गर्नुपर्ने मागसहित केही पदाधिकारीहरूले लबिङ सुरू गरेका हुन् ।
गत मंसिर ४ गते राजपा अध्यक्ष मण्डलका केही सदस्यहरूले संयोजकको जिम्मेवारीमा रहेका महन्थ ठाकुरलाई हटाएर चक्रीय प्रणालीमा लाने निर्णय गरेयता पार्टीको गतिविधि आन्तरिक विवाद समाधान गर्नमा बितेको थियो । महाधिवेशनका लागि गर्नुपर्ने काम समयमा पूरा भएन । ठाकुर पक्षका नेताहरूले आफ्नै सम्मानित नेतालाई विभिन्न आरोप लगाएर चक्रीय प्रणाली अनुसार संयोजक तोक्ने काम गलत भएको र यसलाई सच्याउनुपर्ने माग गर्दै पार्टीको सार्वजनिक आलोचना गर्दै आएका थिए ।
चक्रीय प्रणाली अनुसार अहिलेसम्म संयोजक बन्दै आएका नेताहरूले ठाकुर सम्मानित नेता भएको भन्दै आएकाले ठाकुर पक्षीय नेताहरूको मागलाई बल मिल्दै आएको थियो । अन्ततः केही साता अगाडि संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेपछि ठाकुरलाई महाधिवेशन मूल आयोजक समितिको संयोजक तोक्ने निर्णय अध्यक्ष मण्डलबाट पारित गराएका थिए ।
ठाकुर नेतृत्वमा गठन हुने भनिएको मूल आयोजक समितिले पूर्ण आकार ग्रहण गरिसकेको छैन । महाधिवेशन नभएपछि यसलाई समाधान गर्ने तीन प्रमुख विषय चर्चामा रहेका छन् । पहिलो प्रस्ताव अनुसार अध्यक्ष मण्डलले मनोनित गरी एक केन्द्रीय समितिको खाका तय गर्ने बाटो अंगाल्नु, दोस्रो अहिलेको केन्द्रीय समिति, जिल्ला समिति र निर्वाचनमा भाग लिएर जितेर र हारेका व्यक्तिहरूलाई समावेश गरी महाधिवेशन प्रतिनिधि तोकी उनीहरूको उपस्थितिमा महाधिवेशन गर्नु र तेस्रो वडादेखि माथिसम्मका सबै निकायमा सम्मेलन गराई त्यसबाट प्रतिनिधि तोक्ने विधिसहितको पूर्ण महाधिवेशन गर्नु रहेको छ ।
अध्यक्ष मण्डलका सदस्यहरूले पनि यी विषयहरूमा एकमत जनाइसकेका छैनन् । अध्यक्ष मण्डललाई चुनौती दिँदै केही पदाधिकारीहरूले महाधिवेशन गराउन नसकेपछि यसको औचित्य समाप्त भएको र अब पदाधिकारीहरू मध्येबाट कसैको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तत्काल महाधिवेशन गर्नुपर्ने प्रस्ताव पारित गराउन लबिङमा जुटेका छन् ।
महाधिवेशन सम्भव नभएपछि पार्टीले आवश्यक निर्णय लिन पदाधिकारी बैठक डाकेको थियो । वैशाख ७ गते तेस्रो वार्षिकोत्सव मनाएको राजपाले वैशाख ८ गते आयोजना गरेको पदाधिकारी बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरेको छ ।
महोत्तरी जिल्लाको पिपरा गाँउपालिकाका राजपा नेपालको तर्फबाट निर्वाचित अध्यक्ष विनोद चौधरीको निधन भएपछि चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गरी बैठक स्थगित गरिएको पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्