Logo

मोरङ व्यापार संघमा एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम

विराटनगर-कृषि क्षेत्रमा विकास एवं सहकार्यका लागि नेपाल कृषि बजार विकास कार्यक्रम (एनएमडीपी), सहजद्वारा सञ्चालित ‘एग्रि विजनेस इन्क्युबेसन कार्यक्रम’को ‘डेमो डे’ सम्पन्न भएको छ ।
मोरङ व्यापार संघसहित आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश–१ र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टसमेतको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश नम्बर १ मा उद्यमशिलताको सीप र सोचाइको विकास गर्दै स्थानीय संघसंस्थाहरुको उद्यमशिलताको क्षमतालाई समेत बढाउने उद्देश्यले पृथक ढंगले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत ८ वटा कृषि व्यवसायमा आधारित आईडियाहरु छनौट भएका थिए । कार्यक्रमअन्तर्गत छनौट भएका ती ८ वटा आईडियाहरुलाई व्यवसाय वृद्धि विकास तथा विस्तारीकरणका लागि विजनेस इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच एवं एग्रि विजनेस सम्बन्धी विज्ञहरुको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरुको अवसर प्रदान गरिएको थियो ।
प्रदेश–१ का कृषिमन्त्री झलकबहादुर मगरको उपस्थितिमा विराटनगरमा सम्पन्न गरिएको उक्त ‘डेमो डे’ कार्यक्रममा एग्री–विजनेश इन्कुवेशन सेन्टरअन्तर्गत छनौट गरिएका ८ कृषि व्यवसायहरु, शखाबुङ्ग डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमुना कृषि, रीतिरिवाज आइस क्रिम, कुमारी फूड्स, ग्रीन प्लानेट मिसन, पाकशाला, किसानहरुले आ–आफ्नो व्यावसायिक विचारहरु प्रस्तुत गर्नुका साथै आ–आफ्ना उत्पादित वस्तुहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रममा मन्त्री मगरसहित कृषि मन्त्रालयका प्रदेश सचिव मेगनाथ तिमल्सेना, स्वीस सरकार विकास सहयोग एसडीसीका आयुष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल, सहज नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणको टिम लिडर रिक भेन डर क्याम्प, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. बिजुकुमार थपलिया, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्