सूर्य नेपाल प्रिमियर गल्फमा शुक्र च्याम्पियन

धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन् । करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे । उपाधिसँगै जितेको नगद दुई लाख पचास हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन् ।
२–ओभर ७४ सहित समग्रमा १३–अन्डर २ सय ७५ सहित निरज दोस्रो भए। समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । उनले अन्तिम दिन २–अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कारसहित दोस्रो स्थानमा तल झरे । एमेच्योर वाङ्गचेन ढोन्डुपले १–ओभर ७३ सहित समग्रमा ११–अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए। अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए। उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे । समग्रमा भने उनी पाँचौ भए । एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुवास तामाङले समग्रमा ७–अन्डर २ सय ८१ सहित पूर्णबहादुर शर्मासँग संयुक्तरुपमा छैठौं स्थान बाँडे । सुवासले ५–अन्डर ६७ र पूर्णले इभन–पार ७२ मा खेल पूरा गरे । इभन–पार ७२ सहित समग्रमा ५–अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौ स्थानमा प्रतियोगिता पूरा गरे । भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३–अन्डर २ सय ८५ सहित संयुक्तरुपमा नवौ स्थान बाँडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १–ओभर ७३ मा खेल सकाए। एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर २ सय ८६ सहित एघारौं र समग्रमा इभन–पार २ सय ८८ सहित सूर्यप्रसाद शर्मा १२ औ स्थानमा रहे ।
च्याम्पियन शुक्रले बिहीबार पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा पूरा गरे । यसपछि ११ औ, १२ औ र १८ औ होलमा एक/एक सट बचाउँदा १४ औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २–अन्डर ३४ मा पूरा गरे ।
दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौ होलमा एक–एक सट खेर फाले। यसपछि १४ औ र १५ औ होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा पूरा गरे ।
सूर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्रसहित सम्मान गरेको छ ।