बसाइँ आउनेले पाए ‘इनाम’ «

बसाइँ आउनेले पाए ‘इनाम’

तेह्रथुम-बसाइँ सराइ रोकथाम गर्ने नीति लिएको छथर गाउँपालिकाले बसाइँ सरी आउने नागरिकलाई व्यावसायिक अनुदान दिन थालेको छ ।
जिल्लाको छथर शुक्रबारे बजारमा एक कार्यक्रमका बीच धर्मदेवी नगरपालिका संखुवासभाबाट छथर–१ मा बसाइँ सरी आएका दाछिरी शेर्पालाई कानुनमन्त्री भानुभक्त ढकालले व्यावसायिक अनुदान रकम हस्तान्तरण गरेका छन् । शेर्पालाई पहिलो किस्तावापत ४० हजार व्यवसाय सञ्चालनका लागि रकम हस्तान्तरण हुन् । गाउँपालिकामा बसाइँ सरी आउने ११ घरलाई व्यावसायिक अनुदान दिइने भएको छ । बसाइँ सराइले गाउँ नै रित्तिन थालेपछि छथर गाउँपालिकाले बसाइँ सरी आउनेलाई व्यावसायिक योजनाको आधारमा १ लाखदेखि ५ लाख रुपैंयासम्म दिने नीति पास गरेको थियो । गाउँपालिकामा पूर्वका विभिन्न जिल्लाबाट १८ परिवार छथरमा बसाइँ सरी आएको प्रवक्ता राजन नेपालीले बताए । व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले अनुदान दिने भएपछि पूर्वका विभिन्न जिल्लाबाट बसाइँ सरी आउने क्रम सुरु भएको छ । बसाइँ आएकालाई अनुदान रकम हस्तान्तरण गर्दै कानुनमन्त्री ढकालले छथर गाउँपालिकाले चलाएको यस अभियानले अन्यत्रबाट बसाइँ सरेर आउनेमात्र नभई स्वरोजगार बन्नसमेत उप्रेरित गरेको बताए ।
खानेपानी तथा जंगली जनावारको हैरानीले बर्सेनि यहाँका नागरिक सुरक्षित बासको खोजीमा तराईका विभिन्न स्थानमा बसाइँ जाने क्रम बढेकोे बेला गाउँपालिकाको यो अभियानले थोरै भए पनि रोक्ने प्रयास भएको छ । अनुदान यहीं आएर व्यवसाय गर्ने नागरिकलाई मात्र दिने गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए । बसाइँ सरी आउने नागरिकले बसाइँ सरी आएको प्रमाणपत्रको साथमा व्यावसायिक योजना पनि साथैमा लिएर आउनु पर्ने लिम्बुले बताए । गाउँपालिकाभित्रका बसाइँ आउने जोकोहीले सुविधा पाउने भएका छन् । बसाइँ आएका नागरिकले आफूले गर्ने व्यवसायको साथमा योजना निर्माण गरेपछि मात्रै अनुदान पाउनेछन् ।
१६ हजार ७ सय १५ जनसंख्या रहेको छथर गाउँपालिकामा आगामी ५ वर्षभित्रमा जनसंख्या बढाएर २५ हजार पु-याउने लक्ष्य छ । जनसंख्या घट्दा विकास र समृद्धिमा नै समस्या हुन थालेपछि यस्तो नीति लिएको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रममा योजना नै समावेश गरेको छ  । पहिलो वर्ष १० लाख रुपैंया बजेट छुट्याइएको छ । बसाइँ सरी आउनेको संख्या बढे यो रकममा पनि थप गरिने गाउँपालिकाले जनाएको छ । तत्कालीन ६ वटा गाउँ विकास समिति सुदाप, ओख्र्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुङ र आङदिमलाई मिलाएर छथर गाउँपालिका बनाइएको हो ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँपालिकाको तमोर नदीले छोएका गाउँहरू खानेपानी अभावका कारण बसाइँ सराइले रित्तिन थालेका छन् । बाँच्नैका लागि भए पनि खानेपानीको खोजी गर्दै बसाइँ सर्नेको लर्काे अझै हटेको छैन । गाउँपालिकाकाले यहाँका नागरिको समस्या दीर्घकालीन रूपमा समाधानको बाटो रोज्दै डिपबोरिङ प्रविधिबाट खानेपानी वितरण सुरु गरेको छ । त्यस्तै यहाँका गाउँमा खानेपानी आयोजनालाई ब्यवस्थित रूपमा विकास गर्न रकम विनियोजन गरेको छ । गाउँगाउँमा सडक निर्माणभन्दा पनि जिउनका लागि पानी नभइ नहुने नागरिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्