Logo

आयुर्वेद स्वास्थ्य केन्द्र पाँच महिनादेखि प्रमुखविहीन

जुम्ला– जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा स्वास्थ्य सेवा प्रवाह तथा प्रशासनिक काम प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस ६ गतेदेखि विना कागजात सरुवा भएको भन्दै जाजरकोट गएसंँगै हालसम्म अर्को कार्यालय प्रमुख नआउँदा दैनिक स्वास्थ्य सेवा ठप्प भएका हो ।
पाँच महिनासम्म कार्यालय प्रमुखविहीन भएपछि हालसम्म कार्यालयको वित्तीय खर्च शून्य छ । स्वास्थ्य केन्द्रका वैद्य गोर्खबहादुर रावतले भने, “पुसमा खरिद गरिएको २० लाख बराबरको फर्निचरको भुक्तानी भएको छैन । १५ जना कर्मचारीले पाँच महिनादेखि तलब खान पाएका छैनन् । नयाँ प्रमुख आउने टुंगो छैन । औषधि अभाव चुलिँदै गएको छ । बाथ सेवा पनि ठप्प छ । सेवाग्राही फर्किने गरेका छन् ।”
जम्मा ६ जनाको दरबन्दी रहेकोमा दुईजना मात्रै स्थायी कर्मचारी कार्यरत छन् भने १३ जना करारका कर्मचारी छन् । सबैले ६ महिनादेखि तलब पाएका छ्रैनन् भने स्वास्थ्य केन्द्रमा सबैखाले औषधि अभाव छ । वैद्य रावतले कार्यालय प्रमुख पठाइदिन गुहार गर्दै विगत आठ दिनदेखि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा धाइरहेको समेत बताए । तर गुनासो सम्बोधन हुने वा नहुने कुनै टुंगो नभएको उनले बताए ।
उनले थपे, “उपचार गर्न आएका सेवाग्राही औषधि तथा आवश्यक सामग्री नहुँदा रिसाएर फर्किने गरेका छन् । आयुर्वेदलाई आवश्यक फर्निचर, ल्याबका सामग्री र औषधि खरिदको भुक्तानीसमेत हुन सकेको छैन । कार्यालय प्रमुख नहुँदा २० लाख भुक्तानी रोकिएको छ ।”

पुँजीगत खर्च शून्य
अख्तियारी प्राप्तसहितको दरबन्दीअनुसार जनशक्ति नहुँदा आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको १० महिनाको पुँजीगत खर्च शून्य भएको छ । जुम्लामा रहेको एकमात्र आयुर्वेद अस्पताल धरापमा पर्ने सम्भावना देखिन्छ । १० महिना कटिसक्दा कार्यालयको पुंजीगत खर्च शून्य छ ।
वैद्य रावतले भने, “पुँजीगत जम्मा बजेट कति हो भन्ने थाहा छैन । तर अहिले पुंजीगत खर्च शून्य छ । खरिद सामग्रीको २० लाख भुक्तानी रोकिएको छ भने मर्मत सम्भार, डीपीआर निर्माणमा ५० प्रतिशत पनि खर्च भएको छैन । औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कामहरू हुन सकेका छैनन् । जसका कारण पुंजीगत बजेट शून्य छ ।”
वैद्य गोर्खबहादुर रावतका अनुसार आफूलाई मन्त्रालयले एउटा पत्र दिएको थियो । सो पत्रमा तलब, भत्ता, पोषाक, घरभाडा, बत्ति, बिजुली महसुल शीर्षक खर्च गर्नका लागि पत्र प्राप्त भएको छ । तर त्यस पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको छ ।
औषधि नहुँदा सास्ती
औषधि तथा उपकरण नहुँदा आयुर्वेद स्वास्थ्य केन्द जुम्लामा आउने सेवाग्राही उपचार नगरी फर्किने गरेका छन् । दैनिक १५ देखि ३० जना सेवाग्राही आउँछन् । तर औषधि अभावले समस्या बढेको छ । खातामा पैसा छ तर औषधि खरिद गर्न काम नबढाएपछि सेवाग्राही औषधि लिनबाट समेत वञ्चित भएका छन् । अहिले त औषधि छैन भन्ने थाहा पाएपछि सेवाग्राही घटन थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार आयुर्वेद अस्पताल पहिलेदेखि अस्तव्यस्त भएको हुँदा प्रदेश सरकारसमक्ष सुधारका लागि पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्