अर्थतन्त्रमा डढेलोको प्रभाव «

अर्थतन्त्रमा डढेलोको प्रभाव

वन नेपालको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो । देशको आर्थिक विकासका मेरुदण्डका रूपमा रहेका कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधारस्तम्भ पनि वनजंगल नै हो । देशको आर्थिक, सामाजिक एवं वातावरणीय क्षेत्रको विकासमा वनको उल्लेखनीय योगदान रहेको छ । देशको कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ । क्षेत्रफलका हिसाबले सानो देश भए तापनि भौगोलिक बनावट, उचाइ तथा हावापानीको विविधतामा अत्यन्त धनी छ । जैविक विविधता देशको समृद्धिसँग पनि गाँसिएको छ । वन जैविक विविधताको ठूलो भण्डार पनि हो । तिनै वनजंगल हिजोआज डढेलोले मासिँदै गएका छन् ।
हरियो वन नेपालको धन भन्ने नारा प्रख्यात छ, तर वन भने डढेलोले डडेर खरानी बन्दै छ । जसबाट वन्यजन्तु, चराचुरुंगी, जडीबुटी अत्यन्त जोखिममा पर्दै गइरहेका छन् । बहुउपयोगी काठ जलेर खरानी भइरहेका छन् । राज्यको करोडौंको आम्दानीको स्रोत रहेको वन डढेलोले सखाप भइरहेको छ । वनसँग आममानिसको प्रत्यक्ष सरोकार रहेको हुन्छ । स्थानीयको जीविकोपार्जन वनसँग सम्बन्धित रहेको हुन्छ । तर, तिनै वन मानवीय कारणले डढेलो लाग्दै जाँदा मुलुकको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्दै गइरहेको छ । हाम्रो मुलुकमा डढेलो लाग्नुको प्रमुख कारक मानवीय लापरवाही तथा हेलचेक्राईका कारण डढेलोका घटना घट्ने गरेको पाइन्छ । हाम्रोमा ६४ प्रतिशत डढेलो तथा आगलागीका घटना मानिस आफैंले जानीजानी लगाइरहेका हुन्छन् । यस्ता डढेलोका घटनाले वन तथा जैविक विविधता र सम्पदालाई मात्र नष्ट गर्दैन, यसले त वायुप्रदूषण, बाढीपहिरो, भूक्षय, त्यस्तै पानीको मुहान सुकाउनेजस्ता कार्यमा सघाउ पु-याउँछ ।
फागुन महिनाको सुरुवातदेखि जेठको अन्तिमसम्म डढेलोका घटना उच्च रूपमा घट्ने गर्छ । विशेषतः चैत र वैशाख महिना डढेलोको पिक सिजन हो । यो समयमा डढेलोका उच्च घटानाहरू देखा पर्ने गर्छन्, परिरहेका छन् पनि । तराईका क्षेत्रमा डढेलोका घटना बढी मात्रामा देखिन्छ, जसको क्षति कम मात्रामा हुन्छ । तर, पहाडी भेग र उच्च क्षेत्रमा समेत डढेलो लाग्ने हुँदा त्यस भेगमा भने क्षति अकल्पनीय हुने गर्छ । जंगलमा लागेको डढेलो बस्तीमा पुग्दा धनजनको ठूलो क्षतिसमेत भएको पाइएको छ । त्यस्तै बस्तीमा आगलागी हुँदा जंगलमा समेत फैलने डर उत्तिकै मात्रामा हुने गर्छ । मानिसहरूको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिने गरेको पाइन्छ । यस्ता मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता किसिमका घटनाले बर्सेनि जनधनको क्षति बेहोर्दै आउनुपरेको छ ।
डढेलोको घटना न्यूनीकरण गर्न स्रोत र साधनको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ । तर। हामीकहाँ दक्ष जनशक्ति तथा स्रोतसाधनको अझै पनि अभाव खड्किरहेको छ । जति छन् ती पर्याप्त छैनन् र डढेलोका घटना हुनेबित्तिकै सम्बन्धित क्षेत्रमा पुग्न सक्ने सहज वातावरण पनि छैन् । त्यस कारण पनि क्षतिका बढ्ने गर्छ । अधिकांश रूपमा यस्ता घटना हुनुमा मानवीय त्रुटि नै पहिलो स्थानमा पर्छ । त्यसै कारण वन रहे हामी रहन्छौं भन्नेमा विश्वास जगाउनुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्