पाँच वर्षमा भरतपुर महानगर धपक्क बल्नेछ «

पाँच वर्षमा भरतपुर महानगर धपक्क बल्नेछ

रेनु दाहाल, नवनिर्वाचित मेयर, भरतपुर महानगरपालिका

भरतपुर महानगरको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालका रूपमा निर्वाचित भएकी छन् । २०७४ मा पहिलो कार्यकालका रूपमा मेयरमा निर्वाचित भएपछि भरतपुर महानगरले विकासमा निकै फड्को मारेको थियो । विकासका लागि मेयर ठानेरै महानगरबासीले फेरि रेनुलाई मेयरमा फराकिलो मतान्तरले विजयी बनाएका छन् । प्रदेश र संघीय सरकारबाट ठूला–ठूला पूर्वाधारहरू भित्रयाउन रेनुको पहिलो कार्यकाल निकै सफल बन्यो । सत्ता गठबन्धनको उम्मेदवार बनेर फेरि मेयरमा निर्वाचित भइन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा महिला संघ क्रान्तिकारीको महासचिव हुन् । २०६४ मा संविधानसभा सदस्य, २०७४ मा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, २०६१ मा रोल्पाको सहइन्चार्ज, अखिल भारत नेपाली महिला संगठनको अध्यक्षका रूपमा प्रवासमा रहेर संगठन निर्माणमा उनी सक्रिय भइन् । स्थानीय तहको चुनावका बेला भरतपुर महानगरको नेतृत्व लिन सत्ता र प्रतिपक्ष दुवैले शक्ति प्रदर्शन गरे । गठबन्धनमै रहेको कांग्रेसबाटै बागी उम्मेदवार बनेपछि रेनुलाई चुनाव जित्न कठिन हुने विश्लेषण पनि भए । अन्ततः ५२ हजार २८ मत ल्याएर मेयरमा निर्वाचित भइन् । यसै सन्दर्भमा कारोबारकर्मी विप्लव काफ्लेले भरतपुर महानगरको मेयरमा निर्वाचित रेनु दाहालसँग गरेको कुराकानीको सार

२०७४ साल र यसपालिको जितलाई कसरी लिनुभएको छ ?
समय सन्दर्भ, परिवेश, परिस्थिति सबै हिसाबले फरक अनुभूति गरेको छु । २०७४ मा म भरतपुरका लागि नयाँ थिएँ । यसपालि पाँच वर्ष मेयरको कार्यकाल पूरा गरेर दोस्रो कार्यकालका लागि मेयरको उम्मेदवार बन्दा जनतामाझ मेरो नेतृत्व परीक्षण भइसकेको थियो । अनुभव सँगालेर उम्मेदवार बनेको थिएँ । बिलकुल नयाँ हुँदा अनभिज्ञजस्तो थिएँ, यसपालि अनुभवी, योजना खाकासहितको परिपक्व उम्मेदवारका रूपमा जनताले लिनुभयो । विगतभन्दा बढी आत्मविश्वास थियो । राम्रो चुनावी माहोल बन्यो । जनताले विगतका कामको मूल्यांकन गरेर मत जाहेर गर्नुभयो ।

२०७४ मा मेयर बन्दा २०३ को मतान्तरले विजयी हुनुभयो । यसपालि १२ हजारभन्दा बढीको मतान्तरले विजयी हुनुभएको छ । तर, विगतभन्दा यसपालि सहयात्री दलहरूबीच तिक्तता बढ्यो । सहज जित होला भन्ने लागेको थियो ?
जित हुन्छ भन्नेमा ढुक्क थिएँ । पाँचवर्षे मेरो पहिलो कार्यकाललाई जनताले मूल्यांकन गर्नुहुन्छ भन्नेमा आशावादी थिएँ । पाँचदलीय गठबन्धनबाट पनि साझा उम्मेदवार हुँदा पहिलेभन्दा सहज थियो । तर, चुनावी दौरानमा केही तिक्तता पनि देखिए । मेयरमै बागी उम्मेदवार पनि भए । देशभरिबाटै भरतपुरको चुनावमा ध्यान केन्द्रित भयो । सत्तापक्ष, विपक्ष सबैको ध्यान थियो । जटिल परिस्थिति थियो । जित त हुन्छ भन्नेमा ढुक्क थियौँ । तर, मतान्तर कति होला भन्ने सोचेकी थिएँ । न्यूनतम तीन हजारदेखि अधिकतम आठ हजारसम्म मतान्तरले जितिएला कि जस्तो लागेको थियो । चुनौती, घेराबन्दीका बीचमा पनि जनताले साथ दिनुभयो । विगतको कामको मूल्यांकन गरेर नै राम्रो विश्वास गरेर मत दिनुभयो । सोचेको भन्दा राम्ररी जित्यौं । १२ हजार बढी मतान्तरले जित्यौं । लोकप्रिय मत पाएँ । गठबन्धनबाहिरका दलहरूले पनि कामको मूल्यांकनका आधारमा मत दिनुभयो । लोकप्रिय मतसहित जित हासिल भएको छ । जनताले सही मूल्यांकन गरेको महसुस गरेको छु ।

चुनावी अभियानमा यहाँले अधुरा योजनाहरू पूरा गर्छु, समृद्ध महानगर बनाउँछु भन्नुभएको थियो । ती अधुरा योजनाहरू पूरा गर्न कसरी प्राथमिकतामा पार्नुहुन्छ ?
काम अघि बढिरहेका दीर्घकालीन महत्वका योजनाहरू पूरा गर्नैपर्नेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र बनेको छ । त्यसलाई पूरा गर्नु छ । निर्माणाधीन सिटी हल, नारायणी तटबन्धन, अत्याधुनिक प्रशासनिक भवन, ८८ किमि महानगरीय रिङरोडमध्ये झन्डै ४४ किमि सडकलाई पूर्णता दिनु छ । महानगरभित्रको फोहर व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइट निर्माणका लागि कोरियन सरकारसँग जीटुजी सम्झौता भइसकेको छ । बाँकी सम्झौता गरेर छिटोभन्दा छिटो निर्माण कार्य पूरा गर्नुछ । पुलचोक–गोन्द्राङ सडकलाई हरियालीसहितको सुन्दर सडकका रूपमा काम पूरा गर्नुछ । स्मार्ट बत्ती जडान गर्नुछ । दक्षिण एसियाली मापदण्डको सडकका रूपमा निर्माण सक्ने काम पूरा गर्नेछौँ । विगतका अधुरा सडक योजनाहरूलाई पूरा गर्न लाग्नेछौँ । शिक्षा, स्वास्थ्य, कृषिक्षेत्रमा पनि उल्लेख्य कामहरू गरिनेछ । भरतपुरलाई रोल मोडेलका रूपमा अगाडि बढाउने लक्ष्यलाई साकार पार्न लाग्नेछौं । महानगरभित्रको ढल व्यवस्थापनको गुरुयोजनाको काम अगाडि बढ्नेछ । नारायणी नदीमा पुल निर्माण कार्य पनि गर्नेछौं । विशेषगरी शिक्षा, स्वास्थ्यलाई बढी प्राथमिकता दिएर काम गर्ने सोच लिएका छौं । जनतालाई प्रत्यक्ष लाभ हुने तत्कालीन र दीर्घकालीन कामहरू गर्नेछौं । भरतपुरलाई देशकै नमुना सहर बनाउनेछौं । पाँच वर्षमा स्मार्ट सिटी बनाएरै छाड्नेछौं । समृद्ध महानगर बन्नेछ ।

महानगरवासी सबैलाई रोजगारी दिइने, बेरोजगारीमुक्त महानगर बनाउने लक्ष्य कसरी कार्यान्वयन हुनेछ ? यो योजना सफल पार्न संघीय सरकारको साथ पाउनुहुन्छ ?
संघीय सरकारको साथ नलिई महानगर एक्लैले ठूला पूर्वाधार र दीर्घकालीन महत्वका कामहरू गर्न सहज छैन । साधन, स्रोत जुटाउन कठिन हुन्छ । विगतमा पनि संघीय सरकारकै सहयोगमा महानगरभित्र राष्ट्रिय गौरवका, महानगर गौरवका योजनाहरू अगाडि बढाएका थियौँ । महानगरभित्र सीमित स्रोतसाधन छन् । जनताका असीमित आवश्यकताहरू छन् । विगतमा पनि हामीले सक्रिय पहल र पहुँचका आधारमा समन्वय गरेर संघीय सरकार, प्रदेश सरकारबाट साझेदारीबाट अर्बौंका योजनाहरू भित्र्याउन सफल भएका थियौँ । खानेपानी योजनाका लागिमात्रै झन्डै पौने ४ अर्ब ल्याएका थियौँ । नारायणी तटबन्धनका लागि झन्डै ५ अर्बको योजना विनियोजन गराउन सफल भयौँ । ठूला पूर्वाधारका कामहरू गर्न संघीय सरकारकै साथ चाहिन्छ । महानगरकै सक्रियताका कारण ती योजना आएका थिए । महानगरको बजेटले मात्रै ठूलठूला पूर्वाधारहरू गर्न सकिँदैन । अबका दिनमा दीर्घकालीन महत्वका योजनाहरू पार्न सक्रिय भएर लाग्छौँ ।
बेरोजगारी अन्त्यका लागि पनि हाम्रो सक्रियता रहनेछ । महानगरभित्र संघीय र प्रादेशिक उद्योगग्रामहरू बन्दै छन् । वडा नम्बर २० भीमनगरमा ७ बिघामा प्रादेशिक उद्योगग्राम बन्दै छ । वडा नम्बर २१ पार्वतीपुरमा संघीय उद्योगग्राम बन्दै छन् । ती उद्योगग्राममा हामी उद्यमशील बनाउने काम हुनेछन् । घरेलु उद्योग, मझौला उद्योग, आफैले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको थलो हुनेछन् । महानगरवासीलाई उद्यमशील र स्वावलम्बन बनाउने सोच अगाडि सारिसकेका छौँ । यही कार्यकालमै उद्योगग्राम सञ्चालनमा ल्याइनेछ । हामीले प्रतिबद्धतापत्रमा महानगरभित्रका सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर रोजगारी बैंक बनाउने घोषणा गरेका छौँ । बेरोजगारीको तथ्यांक लिने र कहाँ कसरी दक्ष जनशक्ति बनाउने भनेर कामहरू गरिनेछ । महानगरवासीलाई दक्ष बनाएर रोजगारीमा आबद्ध हुने वातावरण बनाउन लाग्नेछौँ । महानगर कृषिको उर्वर भूमि हो । तरकारी खेती, पशुपालन, पोल्ट्री फार्म, केराखेती, माछापालनजस्ता क्षेत्रलाई प्रवद्र्धन गर्नेछौँ । कृषिमा किसानलाई प्रोत्साहन गर्ने नीति तथा बजेटहरू बनाउनेछौँ । कृषिमा युवाहरूलाई व्यावसायिक रूपमा लाग्ने बनाउन ब्याज अनुदानका कार्यक्रम, विदेशको सीप, स्वदेशमा लगानीजस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ । स्पष्ट कार्यविधि बनाएर रोजगारी सिर्जना गर्न लाग्नेछौँ ।

पहिलो कार्यकाल सडक पूर्वाधारमा केन्द्रित बन्यो । ६ सय २२ किमि सडक कालोपत्रे, ४ सय ५० किमि स्तरीय ग्राबेल सडक बनाउन लाग्नुभयो । अब सडक पूर्वाधारभन्दा अन्य पूर्वाधारको खाँचो महसुस गर्न थाल्नुभएको हो ?
पहिलो कार्यकालमा सडक पूर्वाधारमै जोड दिनुपर्ने बाध्यता थियो । २०७४ को चुनावमा घरदैलोमा जाँदा धुलाम्मे भएर जानुपरेको थियो । स्थानीयहरूका धुलाम्मे सडकबाट मुक्ति दिनुप-यो भन्ने मागहरू धेरै थिए । धेरै सडक धुलाम्मे, हिलो, खाल्डाखुल्डीयुक्त जीर्ण थिए । जनताले धेरै दुःख भोग्नुपरेको थियो । सडक पिच हेर्न गाउँका जनता नारायणगढ बजार आउनुपर्ने स्थिति थियो । जनता सडक निर्माणका माग लिएर डेलिगेसनमा धेरै ठाउँबाट आउनुभयो ।
त्यसैले हामीले सडक पूर्वाधारमै ध्यान दियौँ । मुख्य सडकहरू निर्माणको काम सकेका छौँ । केही प्राथमिकताका सडकको निर्माण कार्य बाँकी नै छन् । अबको सदनमा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना, कृषि, पर्यटनतर्फ हामी बढी केन्द्रित हुनेछौँ । नगरसभाको तयारीमा छौँ । प्रतिबद्धतापत्रमा राखिएका तीनै एजेन्डाहरू कार्यान्वयनतर्फ हाम्रो ध्यान जानेछ । हामी कक्षा १२ सम्म निःशुल्क नै गर्ने गरी नीतिगत निर्णय गर्ने तयारीमा छौँ । विद्यालयहरूलाई प्रविधिमैत्री, वातावरणमैत्री, सुरक्षामैत्री सुविधासम्पन्न बनाउन लाग्नेछौँ । सामुदायिक विद्यालयहरूलाई स्रोतसाधन सम्पन्न बनाउनेछौँ । शैक्षिक गुणस्तर सुधारेर लैजान जरुरी छ । शिक्षाको क्षेत्रमा ठूलै क्रान्ति ल्याइनेछ । पाँच वर्षमा करिब सात हजार विद्यार्थी निजी विद्यालयबाट सामुदायिक विद्यालयमा पढ्न आए । त्यो उल्लेखनीय प्रगति थियो । अब नमुना विद्यालयहरू बनाउन लाग्नेछौँ । भरतपुर मेडिकल सिटी पनि हो । केन्द्रीय अस्पताल भरतपुर अस्पताल छ, क्यान्सर अस्पताल, ठूला मेडिकल कलेजहरू छन् । महानगरअन्तर्गतका ४२ वटा स्वास्थ्य संस्थाहरू छन् । ती स्वास्थ्य केन्द्रहरूलाई स्रोतसाधन र सुविधासम्पन्न बनाउन लाग्नेछौँ । आधारभूत स्वास्थ्य उपचार गर्न वडा तहमै सम्भव हुने वातावरण बनाउनेछौँ । प्राथमिक उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था हट्नेछ । शारदानगर र शिवनगरमा नगरस्तरीय अस्पताल भनेका छौँ । अहिले २५–२५ शय्याको भनेका छौँ । संघीय सरकारसँग पहल गरेर एक पालिका एक अस्पतालको अवधारणाअनुसार भेगहरू मिलाएर सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने दिशामा लाग्नेछौँ । भरतपुरदेखि टाढा रहेको वडा नम्बर २९ मा स्वास्थ्य कार्यालय सञ्चालनमा आएको छ । वडा नम्बर २८ मा पनि बन्दै छ । स्वास्थ्य सेवा लिन बजार नै आउनुपर्ने बाध्यता हटाउनेछौँ ।

गत पुसमै भरतपुर, लुम्बिनी र पोखराबीच त्रिकोणात्मक टुर प्याकेज घोषणा भएको थियो । महानगरभित्रको पर्यटनलाई चलायमान गराउन के–कस्ता योजनाहरू आउँदै छन् ?
भरतपुर महानगर पर्यकटकीय ठूलो गन्तव्य बन्दै छ । गत पुसमै हामीले ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरेका थियौँ । ३० वटा पर्यटकीय गन्तव्य पहिचान गरेका थियौँ । ती गन्त्व्यहरूको प्रवद्र्धनमा लागिरहेका छौँ । चितवन राष्ट्रिय निकुञ्ज यहीं छ । स्वदेशी तथा विदेशी पर्यटक थप भित्रिने अवस्था छ । खेलकुद पर्यटनको विकास हुँदै छ । क्रिकेट रंगशाला बन्दै छ । केन्द्रीय सरकारले रंगशालाको नेतृत्व लिँदै छ । बजेट व्यवस्था गरेर बहुवर्षीय ठेक्कामा काम सुरु भएर पूरा हुँदा महानगरमा खेलकुद पर्यटन पनि विकास हुनेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद गतिविधिहरू हुने भएपछि खेलकुद पर्यटनको अवसर पनि छ । निर्माणाधीन सिटिहल निर्माण पूरा भए पनि सभा, सेमिनार, गोष्ठी, सम्मेलनहरू हुँदा पर्यटनले थप उचाइ लिनेछ । मेडिकल सिटीले पनि स्वास्थ्य पर्यटनमा राम्रो अवसर छ । नगरस्तरीय पार्कहरू कैयन् वडाहरूमा बनिरहेका छन् । नारायणी किनारलाई सी बिच मोडेलबाट विकास गर्न गुरुयोजना बनिसकेको छ । नगर वनक्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डको पर्यटकीय गन्तव्य बनाउँदै छौँ । इको पार्क, ओपन जु, वाटर पार्क बनाउन विदेशी तथा स्वदेशी लगानीकर्ताहरूलाई पनि आह्वान गरेका छौँ । भरतपुरमा सूर्योदय अवलोकन गर्न कविलासको चौकीडाँ, सूर्यास्त अवलोकन गर्न गोलाघाट यहीँ छन् । पर्यटनको सम्भावना भरतपुरले धेरै लिएको छ ।

कर पुनरावलोकनको आवाज पनि आउने गरेका छन् । महानगरको आन्तरिक आय कसरी बढाउने सोचमा हुनुहुन्छ ?
करको दर परिमार्जन आवश्यक परे हामी जतिबेला पनि तयार छौँ । विगतमा करको दर र दायरा निर्धारण गर्दा निजी क्षेत्र, व्यापारिक, व्यावसायिक, राजनीतिक दलहरूकै सुझावका आधारमा तयार गरेका थियौँ । स्वागत गर्नुभएको थियो । कर वृद्धि भयो भन्ने गुनासा थिएनन् । करको दर हामीले निर्धारण ग-यौँ, तर दायराहरूलाई फराकिलो पार्ने र व्यवस्थित गर्ने काम बाँकी छ । अब करको दायरा व्यवस्थित गर्न लाग्नेछौँ । घरबहाल कर, मनोरञ्जन कर, व्यावसायिक करलाई व्यवस्थित गर्न जरुरी छ । विगतमा आन्तरिक आय एक अर्ब पूरा गर्न सक्यौँ । महानगरको समग्र विकासका लागि त्यो आय निकै न्यून छ । भोलिका दिनमा करको दायरा फराकिलो पारेर आन्तरिक आय मजबुत बनाउन जरुरी छ ।

चुनावी अभियानमा होमिँदा प्रतिपक्षीहरूको आरोप थियो— महानगरमा गुरुयोजनाबिना नै पूर्वाधारहरू बनिरहेका छन् । अघिल्लो कार्यकालमा गुरुयोजनाहरू बनेकै थिएनन् भन्ने कुरा सत्य हो ?
यो आरोप हास्यास्पद र तर्कहीन छ । महानगर दिगो विकासको लक्ष्यअनुसार अगाडि बढेको छ । जग तयार भइसकेको छ । महानगरभित्र जेजति पूर्वाधारहरू बनेका छन्, सबै गुरुयोजनाअनुसारकै हुन् । महानगरका लागि एक सिटी हल हुनैपर्ने सूचकांक छ । त्योअनुसार गुरुयोजना नै बनाएर बजेट विनियोजन भएर काम भएको हो । स्मार्ट सिटी मास्टर प्लान बनाइसकेका छौँ । सहरी विकास मन्त्रालयको साझेदारीमा त्यो मास्टर प्लान बनाइएको हो । त्यही गुरुयोजनाअनुसार ठूला पूर्वाधारहरू बनाउन लागेका हौँ । नारायणी तटबन्धनको पनि गुरुयोजना बनाएरै झन्डै पाँच अर्बको बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्काअनुसार अगाडि बढेको हो । महानगरको प्रशासनिक भवन पनि गुरुयोजना बनाएरै बनेको हो । सबै योजना गुरुयोजनाअनुसार नै बनेका हुन् । स्मार्ट सिटीको गुरुयोजना पनि बनिसकेको छ । हामीले सबै योजनाका खाकाहरू सेटअप भइसकेका छन् । संघीय सरकारले एक सयवटा पर्यटकीय गन्तव्यको सूचीमा पटिहानी र प्रदेशको १३ जिल्लाका गन्तव्यहरूमध्ये मेघौली क्षेत्र परिसकेको छ । मेघौलीमा आपत्कालीन उद्धार केन्द्र बनाइसकेका छौँ । प्रदेशस्तरको स्मार्ट विद्यालय मेघौली साझापुरमा बनाउन सफल भैसक्यौँ । सबै योजना गुरुयोजनाअनुसार नै बनेका हुन् । हचुवाका भरमा हामीले विकास पूर्वाधार बनाएका होइनौँ ।

अन्तिम कार्यकाल भनिरहनुभएको छ । पाँच वर्षपछि निर्वतमान मेयर बन्दा भरतपुर महानगर कस्तो बनेको हुनेछ ? केही कल्पना गर्नुभएको छ ?
महानगर धपक्कै बलेको हुनेछ । कुनै पनि मुख्य सडकहरू धुलाम्मे हुनेछैनन् । ती सबै कालोपत्रे भइसकेका हुनेछन् । पुलचोक–गोन्द्राङ सडक, बाइपास सडक, महानगरीय रिङरोड, हुलाकी सडक, भरतपुर–चनौली–मेघौली सडक यी सडक दक्षिण एसियाली मापदण्डको बन्नेछन् । स्मार्ट सडक बत्ती जडान हुनेछन् । विद्युतीय तार भूमिगत हुनेछन् । हरियाली प्रवद्र्धन गरिनेछ । पुलचोकदेखि गोन्द्राङ सडकका बीचमा बाह्रैमासे फुल्ने फूलहरू लगाइनेछ । अरू सडकहरूलाई पनि हरियाली बनाइनेछ । सडकहरूको सौन्दर्यीकरण गरिनेछ । मुख्य–मुख्य चोकहरूमा हाई मास्कका बत्तीहरू जडान हुनेछन् । नारायणी किनार घुम्न लायक आकर्षक गन्तव्य बन्नेछ । स्वदेश तथा विदेशबाट कार्यक्रम गर्ने थलो, खेलकुद गतिविधि हुने क्षेत्रका रूपमा बनेको हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पूरा गर्नेछौँ । उद्योगग्रामहरू सञ्चालनमा आउनेछन् । रोजगारी सिर्जना हुनेछ । कोही पनि बेरोजगार भएर बस्नुपर्नेछैन । जनता निराश हुनेछैनन् । मेयरमा जिताएँ भनेर पछुतो मान्नुपर्ने अवस्था हुनेछैन । साधनस्रोतले सम्पन्न, विकासले पनि रोल मोडेल बनेको हुनेछ । महानगर घुम्न जाऊँ, हेर्न जाऊँ भन्ने खालको बन्ने गरी काम गर्नेछौँ । खुसी सहर हुनेछ । विकासमा तीव्र फड्को मारेको हुनेछ । स्मार्ट सिटीको गुरुयोजनाअनुसार अगाडि बढ्नेछौँ । भरतपुरवासीको मुहारमा खुसी ल्याउनेछौँ । भरतपुरवासी जनता निराश हुनुपर्नेछैन । कुनै पनि दिन महानगरवासी निराश बन्नु नपर्ने गरी जनचाहनाअनुसार काम गर्नेछौँ ।

पाँच वर्षमा भरतपुर महानगरको बजेट तथा खर्च :
वर्ष : बजेट — खर्च
२०७४ : ७५ ३,०२,५०,००,००० — २,७८,४१,६९,६७५
२०७५ : ७६ ३,७२,५४,०७,८०० — २,७७,६३,७९,९४२
२०७६ : ७७ ४,६५,०९,५२,९०० — २,६८,६१,८७,९९५
२०७७ : ७८ ४,८९,९२,२०,७७० — ३,१९,१८,३०,८८४
२०७८ : ७९ ५,४८,०६,१६,४०० — १,९३,०६,९१,०५४
जम्मा : २१,७८,११,९७,८७० — १३,३६,९२,५९,५५०

काम अघि बढिरहेका दीर्घकालीन महत्वका योजनाहरू पूरा गर्नैपर्नेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र बनेको छ । त्यसलाई पूरा गर्नुछ । निर्माणाधीन सिटी हल, नारायणी तटबन्धन, अत्याधुनिक प्रशासनिक भवन, ८८ किमि महानगरीय रिङरोडमध्ये झन्डै ४४ किमि सडकलाई पूर्णता दिनु छ ।

करको दर परिमार्जन आवश्यक परे हामी जतिबेला पनि तयार छौं । विगतमा करको दर र दायरा निर्धारण गर्दा निजी क्षेत्र, व्यापारिक, व्यावसायिक, राजनीतिक दलहरूकै सुझावका आधारमा तयार गरेका थियौं ।

मुख्य सडकहरू धुलाम्मे हुनेछैनन् । ती सबै कालोपत्रे भइसकेका हुनेछन् । पुलचोक–गोन्द्राङ सडक, बाइपास सडक, महानगरीय रिङरोड, हुलाकी सडक, भरतपुर–चनौली–मेघौली सडक यी सडक दक्षिण एसियाली मापदण्डको बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्