फोब्र्सको प्रभावशाली युवा सूचीमा पाँच नेपाली «

फोब्र्सको प्रभावशाली युवा सूचीमा पाँच नेपाली

फोब्र्सले यस वर्षको एसियाका ३० वर्षमुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गर्दा ५ नेपाली परेका छन् । अमेरिकी म्यागेजिन फोब्र्सले बुधबार सार्वजनिक गरेको ‘३० अन्डर ३०’ एसिया सूचीमा सुजित पाठक, ऐश्वर्या रानी सिंह, सुमित दाहाल, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन् । उनीहरु चार हजारभन्दा बढी उम्मेदवारबाट छानिएका हुन् । इनग्रेल नेपालका सह–संस्थापक ३० वर्षीय सुजित पाठक ‘कन्जुमर टेक्नोलोजी’ विधामा सूचीकृत भएका छन् । सञ्चार एपको रूपमा सुरू भएको इनग्रेल नेपालले हाल नेपालका ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पु-याइरहेको छ । हाल उनको कम्पनीले वेदा एपमार्फत विद्यालयहरूको सञ्चालन, वित्त, सञ्चार र डेटा व्यवस्थापन गर्न मद्दत गर्छ ।
पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष २८ वर्षीय ऐश्वर्या रानी सिंह सामाजिक प्रभाव विधामा सूचीकृत भएकी छिन् । गैरनाफामूलक संस्था पुतली नेपालले युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न मद्दत गर्छ ।
यसैगरी, नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्ट डक्टरल २७ वर्षीय सुमित दाहाल ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहेका छन् । चिलीको अटाकामा मरूभूमिमा ब्रह्माण्डको प्रारम्भिक क्षणका माइक्रोवेबका अवशेषहरू अध्ययनका लागि तीनवटा माइक्रोवेब टेलिस्कोप तयार पारेका उनले नासामा टेलिस्कोपका लागि अति संवेदनशील सुपरकन्डक्टिङ सेन्सरहरू विकास गर्छन् । जोन्स हप्किन्स विश्वविद्यालयबाट एस्ट्रोफिजिक्समा पिएचडी गरेका सुमितले न्यूयोर्क विश्वविद्यालयबाट भौतिकशास्त्र र गणितमा स्नातक गरेका छन् । उनी ‘हेल्थ एन्ड साइन्स’ विधा अन्तर्गत सूचीकृत भएका हुन् ।
यस्तै, क्रमशः २८ वर्षीय र २५ वर्षीय निरज काफ्ले र सन्तोष पाण्डे ‘रिटेल एन्ड इ–कमर्स’ विधामा सूचीकृत भएका छन् । अफरिङ ह्यापिनेसका सहसंस्थापकहरू निरज र सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सुरु गरेका थिए । उनीहरुको संस्थाले उपहार र सप्र्राइज प्याकेज डेलिभरी गरेर खुसी बाँड्छ । यस वर्षको सूचीमा नेपाल सहितका २२ देश र क्षेत्रहरूको प्रतिनिधित्व छ ।

प्रतिक्रिया दिनुहोस्