भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जुट्नुपर्छ : खनाल «

भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जुट्नुपर्छ : खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको भूूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए ।
‘राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल भएर उभिन सक्नुपर्छ, यस्तो परराष्ट्रनीति जरुरी छ,’ उनले भने, ‘अब कूटनीतिक कुरा गर्ने होइन, राष्ट्रिय सहमतिबाट हाम्रो भूमि र सीमाको संरक्षण गर्नुपर्छ ।’ नेकपा (एकीकृत समाजवादी) का नेता खनालले वर्तमान संविधानलाई मार्गदर्शन मानेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भूमि सुधारको कुरा नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै भने, ‘भूमिसम्बन्धी तथ्यांक हामीसँग अध्यावधिक छैन, कुनै पनि ठाउँबाट क्लिक गर्दा हेर्न सकिने गरी बनाउनुपर्छ ।’ नेता खनालले अब राजनीतिक दल ठीक ढङ्गले चल्न नसके धेरै बालेन जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताए ।
नेता खनालले श्रमजीवी वर्गको जनताको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने बताए । उनले भने, ‘चीनले १० वर्षअघि नै गरिबी निवारण ग-यो, जम्मा दुई करोड ९२ लाख भएको जनसंख्यालाई गरिबी उन्मूलन गरेर जान किन सकिँदैन ? सकिन्छ ।’ उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नुपर्ने र देशमा उद्योगधन्दा सञ्चालनका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्