बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध छौं : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन् । बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उनले स्पष्ट पारिन् ।
उनले भनिन्, “बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौं । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ । स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन ।”
छलफलका क्रममा धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि पाठकले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए । यस्तै अर्का सांसद हितबहादुर तामाङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए । उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताए ।
धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यावहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । उनले साइटमा फालेको फोहोर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताए । यस्तै नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वअन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने समेत बताए ।
यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताए । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्नका लागि तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न उनीहरूले आग्रह गरे ।