Logo

सँस्कृत शिक्षामा आकर्षण घट्दो

लमजुङ-परम्परागत संस्कार र संस्कृति संरक्षणका लागि २०२४ सालमा लमजुङको चन्द्रेश्वरमा सनातन धर्म सेवाश्रम, गुरुकुल आश्रमको स्थापना भयो । सोही आश्रमले संस्कृत शिक्षालाई प्राथमिकतामा राख्दै २०२६ सालमा पाणिनी संस्कृत विद्यालय सञ्चालन ग¥यो । विद्यालयमा निरन्तर संस्कृत शिक्षा पठनपाठन हुँदै आए पनि पछिल्लो समय विद्यार्थी संख्या निकै कम भएको छ ।
नेपाली भाषाको जननीका रूपमा संस्कृत भाषा रहे पनि यस शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । संस्कृत शिक्षाको संरक्षण एवं विकासका लागि सरकारले लगानी गर्दै आए पनि त्यस अनुरुप अपेक्षित उपलब्धि हासिल हुन नसक्दा चिन्ताको विषय बनेको छ । संस्कृत शिक्षाका लागि निकै आकर्षक बनेको पाणिनी माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या न्यून हुँदै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
“प्राचीनकालमा गुरुकुल पद्धतिबाट अध्ययन अध्यापन हुन्थ्यो,” चन्द्रेश्वरका विश्वनाथ अधिकारीले भने, “संस्कृत सिक्नु अनिवार्य थियो, तर अहिले सँस्कृत लोप हुन थालिसकेको छ ।”
विशेषगरी ब्राम्हण समुदायमा संस्कृतको उपयोगिता बढी भए पनि हाल विद्यालयमा अधिकांश दलित समुदायका विद्यार्थी अध्यनरत छन् । सरकारले पनि संस्कृत शिक्षामा विद्यार्थीको आकर्षण वृद्धि गर्न खासै कार्यक्रम ल्याउन नसकेको विद्यालयका प्रधानाध्यापक गोविन्द तिवारीले बताए । “संस्कृत उपेक्षाको विषय बनेको छ,” प्रअ तिवारीले भने, “संस्कृत शिक्षाप्रति थप आकर्षण हुनेगरी सरकारले नै प्राथमिकतामा राख्नुपर्छ ।”
गत शैक्षिक वर्षमा पाणीनी सस्कृति माविमा २९ विद्यार्थी र ११ शिक्षक रहेका थिए । चालू शैक्षिक वर्षमा यो संख्या घट्ने देखिएको छ । “नयाँ शैक्षिक सत्र सुरु भएको पनि एक साता भइसक्यो, १५÷२० जनाभन्दा बढी विद्यार्थी विद्यालय आएका छैनन्,” प्रअ तिवारीले बताए । विद्यालयमा गत शैक्षिक वर्षमा कक्षा ३ र १० मा विद्यार्थीको संख्या शून्य थियो । चालू शैक्षिक सत्रमा कक्षा ४ मा विद्यार्थी शून्य हुने निश्चित भएको छ भने अन्य कक्षामा पनि विद्यार्थी शून्य हुने अनुमान छ । विशेषगरी बढ्दो शहरीकरण र बसाइँ सराइका कारण गाउँ खाली भए पनि संस्कृतसँगै ग्रामीण भेगका अन्य विद्यालय पनि खालीजस्तै बन्न थालेका छन् । त्योसँगै संस्कृतमा मोह कम हुँदै गएपछि संस्कृत विद्यालय झनै मारमा परेको हो । विद्यालयमा पढाइ हुने सात विषयमध्ये दुई विषयमात्र संस्कृत हुन् । बाँकी विषयमा नेपाली, अंग्रेजीलगायतका विषयमा पढाइ हुने गरेको छ । संस्कृत विद्यालय भनिएकोले अन्य विषयमा पढाइ हुन्छ भन्ने थाहा नपाएर पनि विद्यालयमा विद्यार्थी संख्या घटेको हुनसक्ने अनुमान छ ।
अनिवार्य बनाइनुपर्ने संस्कृत शिक्षालाई हेय भावबाट हेरिने प्रवृत्ति आममानिसमा रहेको पाइन्छ । पूर्वीय संस्कृतिको मुख्य भाषाका रूपमा संस्कृत भाषाको दायरालाई फराकिलो पार्नसके यसको महत्व र गरिमा बढ्दै जाने पाणिनी संस्कृत विद्यालयका पूर्वशिक्षक धर्मराज तिमलसेनाको अपेक्षा व्यक्त गरे । “राज्यबाट नै संस्कृत लोप हुन लागिसकेको अवस्थामा छ,” तिमलसेनाले भने, “यसलाई संरक्षण गर्न राज्यको ध्यान पुग्नुपर्छ ।”
मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकार पनि शैक्षिक विकासको जिम्मेवार निकाय हो । तर स्थानीय सरकारले अपेक्षित रूपमा विद्यार्थीको आकर्षण बढाउने गतिविधि र योजना केही गर्न सकेको देखिँदैन । सामान्य खर्च गरेर संरचना पुनर्निर्माण बाहेक अरु केही गर्न नसकिएको सुन्दरबजार–३, चन्द्रेश्वरका अध्यक्ष अमृत न्यौपानेले बताए । “संस्कृत विद्यालय जुन किसिमले उपेक्षामा परेको छ यसलाई केन्द्रीय सरकारले नै उठाउन सक्छ,” न्यौपानेले भने, “स्थानीय तहमा ठूलो बजेट नहुँदा इच्छा भएर पनि काम गर्न सकेका छैनौ ।”
पछिल्लो समयमा संस्कृत भाषालाई मूलधारमा ल्याउनका लागि कक्षा १० सम्म अनिवार्य संस्कृत विषय राख्नुपर्ने माग पनि छ । पाठ्यक्रममा संस्कृत विषयलाई समावेश गर्नुका साथै लोक सेवा आयोगको पाठ्यक्रममा संस्कृत शिक्षाका विषय समावेश गरिदिए यसप्रति सर्वसाधारणको आकर्षण बढ्ने सम्बन्धित विज्ञको धारणा छ ।

 

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्